अस्ट्रेलियन ओपन

स्भितोलिनालाई हराउँदै अजारेन्का अन्तिम १६ मा

मेलबर्न । विश्व वरियताको १७औं स्थानकी इलिना स्भितोलिना अस्ट्रेलियन ओपनको तेस्रो चरणबाट बाहिरिएकी छिन् ।

मेलबर्न पार्कमा शुक्रबार भएको खेलमा युक्रेनकी स्भितोलिना बेलारुसकी भिक्टोरिया अजारेन्कासँग ६–० ६–२ को सोझो सेटमा पराजित भइन् । अजेरेन्का सन् २०१६ पछि पहिलो पटक ओपनको चौथो चरणमा प्रवेश गरेकी हुन् ।

वरियताको २५औं स्थानकी अजारेन्का पछिल्लो सिजन ओपनको पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

अजारेन्काले ओपनको क्वार्टरफाइलन प्रवेशका लागि चेक गणतन्त्रकी बारबोरा क्रेजिकोभाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् ।

वरियताको चौथो स्थानकी क्रेजिकोभाले तेस्रो चरणमा लात्भियाकी जेलेना ओस्टापेन्कालाई २–६ ६–४ ६–४ पराजित गरिन् ।

क्रेजिकोभाले पहिलो सेट २–६ ले गुमाए पनि दोस्रो र तेस्रो सेटमा उत्कृष्ट ‘कमब्याक’ गरिन् ।

पछिल्लो सिजन अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएकी क्रेजिकोभाले फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।