सानिया मिर्जा

यो सिजनपछि सन्यास लिने सानिया मिर्जाको घोषणा

मेलर्बन । भारतीय टेनिस खेलाडी सानिया मिर्जाले यो नै आफ्नो खेल करियरको अन्तिम सिजन रहेको बताएकी छन् ।

बुधबार अस्ट्रेलियन ओपनको पहिलो चरणमा पराजित भएपछि पत्रकार सम्मेलनमा बोल्दै उनले यो सिजन सक्याएर आफ्नो खेल जीवनको अन्त्य गर्ने बताइन् ।

‘यो मेरो खेल जीवनको अन्तिम सिजन हो । तर, यस सिजन पुरै खेल्न  सक्छु कि सक्दिन त्यो निश्चित छैन,’ उनले पत्रकार सम्मेलनमा भनिन् ।

विश्व वरियताको डबल्सतर्फ ६८औं स्थानकी मिर्जाले डबल्समै २०१६ को अस्ट्रेलियन ओपन उपाधि जितेकी थिइन् । यस्तै, २०१५ मा विम्बलडन र युएस ओपनको उपाधि पनि जितेकी थिइन् ।

अस्ट्रेलियन ओपनको पहिलो चरणमा बुधबार सानिया र वरियताको ३१औं स्थानकी नादिया किचेनओकको जोडी वरियताको २९औं स्थानकी टमारा जिदानसेक र ८९औं स्थानकी काया जुवानको जोडीसँग ६–४ ७–६ (७–५) को सेटमा पराजित भएका थिए ।