अस्ट्रेलियन ओपन

अस्ट्रलियन ओपन: विश्व नम्बर एक बार्टी तेस्रो चरणमा

मेलर्बन । विश्व वरियताको शीर्ष स्थानकी अस्लेग बार्टी अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

मेलबर्न पार्कमा बुधबार भएको दोस्रो चरणको खेलमा बार्टीले विश्व वरियतामा एक सय ४२औं स्थानकी लुसिया ब्रोनजेट्टीविरूद्ध ६–१ ६–१ को सोझो सेटमा जित निकालिन् ।

ब्रोनजेट्टी छनोटबाट पहिलो पटक  ग्रान्ड स्लाममा डेब्यु गरेकी हुन् । २०१२ मा अस्ट्रेलियन ओपनमा डेब्यु गरेकी बार्टीले पहिलो खेलमा भने राम्रो प्रदर्शन गर्न सकेकी थिइनन् ।

त्यसपछिका खेलमा सुधार गर्दै आएकी बार्टीले २०२० मा पहिलो पटक सेमिफाइनलमा पुगेकी थिइन् । गत वर्ष बार्टी क्वार्टरफाइनलबाटै बाहिरिनु परेको थियो । बार्टी २०१९ को फ्रेन्च ओपन र २०२१ को विम्बल्डन च्याम्पियन हुन् ।

बार्टीले चौथो चरण प्रवेशका लागि विश्व वरियताको ३३औं स्थानकी क्यामिला जियोर्जीसँग खेल्नेछिन् । २०१३ देखि अस्ट्रेलियन ओपन खेल्दै आएकी जियोर्जी गत वर्ष दोस्रो चरणबाटै बाहिरिएकी थिइन् ।