अस्ट्रेलियन ओपन

नाडाल अस्ट्रेलियन ओपनको तेस्रो चरणमा

मेलबर्न । २० पटकका ग्रान्डस्लाम च्याम्पियन राफेल नाडाल वर्षको पहिलो ग्रान्डस्लाम- अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

मेलबर्न पार्कमा बुधबार बिहान भएको दोस्रो चरणको खेलमा जर्मनीका यानिक हान्फम्यानलाई ६-२ ६-३ ६-४ को नतिजामा पराजित गर्दै पाँच पटकका फाइनलिस्ट नाडाल तेस्रो चरणका पुगेका हुन् ।

यसअघि पाँच पटक फाइनलमा पुगेका नाडालले उपाधि भने एक पटक मात्रै सन् २००९ मा जितेका थिए । सुरुआती दुई सेटमा नाडालसामु सम्हालिन नसकेका यानिक हान्फम्यानले अन्तिम सेटमा चार म्याच प्वाइन्ट रोक्दै दुई पटक ड्युज बनाएका थिए ।

छनोट खेलेर अस्ट्रेलियन ओपन खेल्न आइपुगेका हान्फम्यान पहिलो पटक ग्रान्डस्लामको पहिलो चरण पार गर्न सफल भएका थिए । चौथो चरण प्रवेशका लागि विश्व वरिताको छैटौ‍ स्थानका नाडालले कारेन कचानोभ र बेन्जामिन बोन्जीबीचको विजेतासँग खेल्ने छन् ।

हान्फम्यान पहिलो चरणमा थान्सी कोकिनाकिसलाई ६२ ६-३ ६-२ को नतिजामा पराजित गर्दै दोस्रो चरणमा आइपुगेका थिए ।