फ्रेन्च ओपन

फ्रान्सका खेलकुद मन्त्रीले भने– फ्रेन्च ओपनमा कोभिडविरुद्धको खोप अनिवार्य

पेरिस । फ्रान्सका खेलकुद मन्त्री रोक्सना मारासिनानुले फ्रेन्च ओपन खेल्ने सबैले अनिवार्यरूपमा कोभिड १९ विरुद्धको खोप लगाएको हुनुपर्ने बताएकी छन् ।

फ्रान्सको संसदले आइतबार पास गरेको नयाँ नियमअनुसार रेस्टुरेन्ट, क्याफे, सिनेमाहल र लामो दूरीको रेलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने भएको छ ।

‘नियम सामान्य छ, खोप कार्ड लागू हुनेछ,’ उनले भनिन्, ‘यो सबैलाई लागू हुनेछ, चाहे त्यो दर्शक होस् वा व्यावसायिक खेलाडी । रोलान्ड गारोसको सम्बन्धमा पनि त्यही हो । अहिले र त्यो समयमा केही परिवर्तन हुन सक्छ तर छुट कसैलाई हुनेछैन ।’

फ्रान्सको यो नियमसँगै विश्व नम्बर एक नोभाक जोकोभिचका लागि चिन्ताको विषय बढेको छ । कोभिडविरुद्धको खोप लगाउन अस्वीकार गरेका कारण अस्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेका जोकोभिचलाई त्यहाँको सरकारले आइतबार स्वदेश फिर्ता गरिदिएको थियो ।

जसका कारण कीर्तिमानी २१औं ग्रान्डस्लाम जित्ने उनको लक्ष्य अर्को ग्रान्डस्लामसम्म धकेलिएको थियो । यद्यपि, वर्षको दोस्रो ग्रान्डस्लाममा पनि कोभिडविरुद्धको खोप अनिवार्य गरिएसँगै उनका लागि चिन्ता बढेको छ ।