अस्ट्रेलियन ओपन

विश्व नम्बर एक बार्टीको शानदार सुरुआत

मेलबर्न । लेसिया सुरेन्कोलाई ६–० ६–१ को नतिजामा पराजित गर्दै विश्व नम्बर एक अस्लेग बार्टीले अस्ट्रेलियन ओपनमा शानदार सुरुआत गरेकी छन् । 

गत सिजनकी सेमिफाइनललिस्टसमेत रहेकी बार्टीले छनोट खेल्दै वर्षको पहिलो ग्रान्डस्लाममा स्थान बनाउकी युक्रेनकी सुरेन्कोलाई सुरुआतदेखि नै दबाबमा राखेकी थिइन् ।

सन् २०१२ बाट निरन्तर अस्ट्रेलियन ओपन खेलिरहेकी बार्टी २०२० मा सेमिफाइनलसम्म पुगेकी थिइन् । गत वर्ष घरेलु कोर्टमा क्वाटरफाइनलसम्म पुगेकी बार्टी विम्बलडन च्याम्पियन बनेकी थिइन् ।

अस्ट्रेलियन टेनिस स्टार बार्टीले हालसम्म दुई ग्रान्डस्लाम जितेकी छन् । गत वर्ष विम्बलडन च्याम्पियन बन्नुअघि उनले २०१९ मा फ्रेन्च ओपनको उपाधि उचालेकी थिइन् ।

सोमबारको जितँसगै प्रतियोगितामा शानदार सुरुआत गरेकी बार्टीले दोस्रो चरणमा इटालीकी लुसिया ब्रोन्जेटीसँग खेल्ने छिन् । ब्रोन्जेटी भार्वरा ग्राचेभालाई पराजित गर्दै दोस्रो चरणमा पुगेकी हुन् ।