अस्ट्रेलियन ओपन

नाडालको विजयी सुरुआत

मेलबर्न । कीर्तिमानी २१औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका राफेल नाडालले वर्षको पहिलो ग्रान्डस्लाम– अस्ट्रेलियन ओपनमा विजयी सुरुआत गरेका छन् ।

दोस्रो चरणमा प्रवेश गर्नेक्रममा नाडालले सोमबार मार्कस गिरोनलाई ६–१ ६–४ ६–२ को सोझो सेटमा पराजित गरे ।

विश्व वरियताको छैटौं स्थानका नाडाल सोमबारबाट सुरु भएको अस्ट्रेलियन ओपनमा यसअघि नै च्याम्पियन बनिसकेका एकमात्र खेलाडी हुन् ।

स्पेनिस स्टार नाडाल पाँच महिनापछि ग्रान्डस्लाम टेनिसमा फर्किएका हुन् । खुट्टामा चोट लागेपछि नाडाल सेप्टेम्बरदेखि मैदान बाहिर थिए ।

नाडालले दोस्रो चरणमा यानिक ह्यान्फम्यान र थानासी कोकिनासिसबीचको विजेतासँग खेल्नेछन् ।

२० पटकका ग्रान्डस्लाम च्याम्पियन नाडाल यस वर्ष कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् । नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० पटक ग्राडस्लाम जितेका छन् । यद्यपि, दुवै खेलाडी यस संस्करणमा सहभागी छैनन् ।