बेरेटिनी अस्ट्रेलियन ओपनको दोस्रो चरणमा

मेलबर्न । सोमबारदेखि सुरु भएको वर्षको पहिलो ग्रान्डस्लाम (अस्ट्रेलियन ओपन)को पहिलो खेलमा ब्रान्डोन नाकासिमालाई ४–६ ६–२ ७–६ (७–५) ६–३ को नजितामा पराजित गर्र्दै विश्व नम्बर सात माटेओ बेरेटिनी दोस्रो चरणमा पुगेका छन् ।

सोमबार बिहान मेलबर्नमा भएको खेलको पहिलो सेट ४–६ ले गुमाएका बेरेटिनीले त्यसपछिका लगातार तीन सेट जित्दै प्रतियोगितामा विजयी सुरुआत गरे ।

अस्ट्रेलियन ओपनको गत सिजनको चौथो चरणसम्म पुगेका बेरेटिनी गत वर्षको विम्बलडनको फाइनलसम्म पुगेका थिए । यद्यपि, अस्ट्रेलियन अ‍ोपनमा चौथो चरण नै उनको हालसम्मको ठूलो उपलब्धी हो ।

यसअघिका चार संस्करण खेलेका बेरेटिनीले दुई पटक पहिलो चरणबाटै बाहिरिएका थिए भने २०२० मा दोस्रो चरणसम्म पुगेका थिए ।

यसपाली पहिलो जित्दै दोस्रो चरणमा पुगेका इटालियन २५ वर्षे बेरेटिनीले अमेरिकी खेलाडी स्टेफन कोज्लोभसँग तेस्रो चरण प्रवेशका लागि खेल्ने छन् । कोज्लोभ चेक रिपब्लिकका जिरी भेसेलीलाई ७–५ ६–३ ६–४ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा पुगेका हुन् ।