चार दशकपछि अस्ट्रेलियन महिला विम्बल्डनको फाइनलमा

लन्डन, (खेलाडी)- पूर्व च्याम्पियन एन्जेलिक केर्बेरको चुनौती सोझो सेटमा पन्छाउँदै बिहीबार राति एश्लेघ बार्टी १९८० यता विम्बल्डनको महिला एकलतर्फ फाइनल पुग्‍ने पहिलो अस्ट्रेलियन खेलाडी बनेकी छिन् । 

२०१६ मा सेरेना विलियम्सपछि महिला विश्‍व वरियताको शीर्ष स्थानमा रहने खेलाडी विम्बल्डनको सेमिफाइनल पुगेको नै यो पहिलो थियो । तर बार्टीले आफ्नो यात्रा त्यसभन्दा पनि अगाडि बढाउने क्रममा बिहीबार सेन्टर कोर्टको सेमिफाइनलमा केर्बेरमाथि ६-३, ७-६(७/३) को सोझो सेटमा जित हासिल गरिन । 

पछिल्लो पटक १९८० मा अस्ट्रेलियाकी इभोन गोलागोङले फाइनलमा क्रिस इभर्टलाई हराउँदै विम्बल्डन जितेकी थिइन । त्यसयता अस्ट्रेलियाका कुनै पनि महिला खेलाडी विम्बल्डनको फाइनल पुग्‍न सकेका थिएनन् । 

तथापि पुरुषतर्फ भने १९८७ मा पाट क्यास र २००२ मा लेट्टोन हेविटले विम्बल्डन जित्‍ने सफलता हासिल गरेका थिए । 

‘यो जितबाट मलाई असाधारण खुसी प्राप्त भएको छ । आजको खेल मेरा लागि करियरकै उत्कृष्‍ट मध्ये एक रहयो । केर्बेरले आज मबाट मभित्रको उत्कृष्‍ट टेनिस बाहिर निकालिन । यसका लागि उनलाई धन्यवाद भन्‍न चाहन्छु । उनी वास्तवमै एक अत्यन्तै कठिन प्रतिद्वन्द्वी हुन्,’ बार्टीले खेलपछि भनिन्, ‘विम्बल्डन जित्‍नु मेरो वाल्यकालदेखिको सपना थियो । त्यो सपना पूरा गर्न शनिबार म आफ्नो तर्फबाट सत प्रतिसत मेहनत गर्नेछु ।’

शनिबार हुने फाइनलमा बार्टीले क्यारोलिना प्लिसकोभा वा एरिना साबालेन्कामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछिन् । प्लिसकोभा र साबालेन्काबीचको सेमिफाइनल सेन्टर कोर्टमा केहीबेरमै सुरु हुनेछ ।