टेनिस

तत्काल संन्यासको सोचमा छैनन् फेडेरर

जेनेभा। स्विट्जरल्यान्डका रोजर फेडेररले संन्यासको बारेमा केही नसोचेको उनका प्रशिक्षक इभान ल्युबिसिकले बताएका छन् ।

‘हामीले यसविषयमा कुरा गरेका थियौं । उनी अझै टेनिस खेल्न चाहन्छन् । जब उनले अन्त्य गर्ने निर्णय गर्छन्, तब उनले संन्यास लिनेछन् । तर मलाई लाग्दैन यो सबै कुरा अचानक हुन्छ,’ उनले भने ।

पछिल्लो दुई सिजन देखि चोटको सामना गरिरहेका फेडेररले सन् २०२० मा भएको अस्टे«लियन ओपनको सेमिफाइनल पुग्नु अघि घुँडाको शल्यक्रिया गराएका थिए ।

२० पटकका ग्रान्ड स्लाम जितेका फेडेरर गत जुनमा विम्बल्डनको क्वार्टरफाइनल गुमाए यता आराममा छन् ।  

चोटबाट पूर्ण रुपमा मुक्त भइनसकेका कारण उनले जनवरीमा हुने वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन गुमाउने सम्भावना बलियो छ । तर प्रशिक्षक ल्युबिसिकका अनुसार उनी फिटनेस हासिल गर्नका लागि सतप्रतिसत मिहिनेत गरिरहेका छन् र अस्ट्रेलियन ओपनमा पुनरागमन गर्नु उनको अहिलेको लक्ष्य हो ।