टेनिस

नेपाली जोडीलाई पाकिस्तानमा स्वर्ण पदक

काठमाडौं । नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आइटिएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गर्ल्स डबल्समा शुक्रबार स्वर्ण पदक जितेका छन् ।

पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६-१, ६-२ को सोझो सेटमा सहजै पराजित गर्यो ।

त्यसअघि विजेता जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीमाथि ६-०, ६-१ को सहज जित हासिल गरेको नेपाल टेनिस संघका सदस्य अजय बिष्टले जनाएका छन् ।

ब्वाइज डबल्समा भने नेपाली जोडीले रजत पदकमा चित्त बुझाए । नेपालबाट आरभसम्राट हाडा र अकिजुवेन रावतले प्रतिस्पर्धा गरेका थिए । उनीहरुलाई प्रतिस्पर्धात्मक फाइनलमा टर्कीका अहनेट अताबे र आयरल्यान्डका युनेश तलाबारको जोडीले ६-०, ३-६, ११-९ को सेटमा हराएको थियो । सर्किट १ शनिबारसम्म चल्ने छ । त्यसपछि सर्किट २ का खेलहरु हुनेछन् ।