वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता

शिभाली र समृद्धी गणेशमान टेनिसको फाइनलमा

काठमाडौं । शिभाली गुरु र समृद्धी महर्जन वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको छात्रा १२ वर्ष मुनिको उमेर समूहमा फाइनल पुगेका छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा मंगलबार सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा बुधबार शिभालीले प्राज्ना मानन्धरलाई ६-२, ५-७, ६-४ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरिन । यसैगरी समृद्धीले भने स्वस्तिका बिष्टमाथि ६-१, ६-३ को सोझो सेटमा विजय हासिल गर्दै फाइनल यात्रा पक्का गरिन ।

छात्रको १० वर्ष मुनि उमेर समूहमा निश्चल ज्ञवालीमाथि ६-४, ६-० को सोझो सेटमा जित हासिल गर्दै शंखहरी राई अन्तिम चारमा प्रवेश गरेका छन् । छात्रकै १२ वर्ष मुनिको उमेर समूहमा अद्रित नेपाललाई ६-२, ६-० को सोझो सेटमा पराजित गर्दै दर्सिल श्रेष्ठ सेमफाइनल पुगे ।

यसैगरी छात्रको १२ वर्ष मुनिका अन्य खेलमा जित हासिल गर्दै सास्वत बज्राचार्य, श्रीजन भट्टराई, निशाद जोशी र बृजेश अर्यालले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

१४ वर्षमुनिको छात्र स्पर्धामा सास्वतले विकास पाण्डेलाई ६-२, ६-४ को नतिजामा हराउँदै अन्तिम आठको यात्रा तय गर्दा सौरव अधिकारी र बोरिस अधिकारी पनि अन्तिम आठमा पुगेका छन् । सौरवले सक्षम पाण्डेलाई ६-१, ६-० को नतिजामा हराउँदा बोरिसले बृजेश अर्यालमाथि ६-२, ६-० को नतिजामा निराश पारेका थिए ।

सिनियरतर्फ इभा अधिकारीले रोमिका बुद्धाचार्यलाई ६-१, ६-२ को सोझो सेटमा हराउँदै महिला एकलको क्वार्टरफाइनल पुग्दा पुरुष युगलमा उगेन शेर्पा र भिश्मजंग गुरुङको जोडीले भाश्करमान सिंह र अशोक न्यौपानेको जोडीलाई ६-१, ६-१ को नतिजामा पाखा लगाउँदै अन्तिम आठको यात्रा तय गरेको छ ।

यसैगरी ६५ वर्षमाथिको पुरुष एकलतर्फ विदुर बिष्ट र ज्ञानेन्द्र ताम्राकारले फाइनलमा एक-अर्काविरुद्धको भिडन्त पक्का गरे । सेमिफाइनलमा बिष्टले भरत रायामाझीलाई ४-१, ४-० तथा ताम्राकारले सेन्तेन नोर्केललाई ४-०, ४-० को नतिजामा हराएका थिए ।

५५ वर्षमाथिको पुरुष एकलमा विमल गुरुङ, सागर केसी, इन्द्रबहादुर शाह र निरञ्जनकुमार श्रेष्ठ क्वार्टरफाइनल प्रवेश गरे । केसीले प्रेम थापा तथा शाहले उत्तमकुमार लामाबाट वाकओभर पाउँदा श्रेष्ठले विष्णुबहादुर थापा तथा गुरुङले प्रविण बैद्यलाई ६-०, ६-० को समान अन्तरमा पराजित गरेको आयोजक गणेश मान सिंह फाउन्डेसनले जनाएको छ ।