संगिना वैद्य

संगीना वैद्य: छनोटबाट ओलम्पिक खेल्ने पहिलो

तेक्वान्दो क्वीन संगीना वैद्य नेपाली खेलकुदकी सबैभन्दा सफल महिला खेलाडी हो भन्न कन्जुस्याइँ गर्नुपर्दैन । कारण संगीना छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

वाइल्ड कार्डकै भरमा विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिकमा सहभागिता जनाउँदै आएको नेपालको इतिहास सन् २००४ को एथेन्स ओलम्पिकमा यिनै साहसी महिलाले परिवर्तन गरिन् ।

संगीनाबाट सुरु भएको छनोट चरण पार गरेर ओलम्पिक खेल्ने नेपाली खेलाडीको यात्रा दीपक विष्टसम्म पुगेपछि अरूले त्यसलाई निरन्तरता दिन सकेका छैनन् ।

संगीनाको यो सफलतामा आमाबुबा र दिदीबिहिनीको साथ उत्तिकै थियो । उनी भन्छिन्, ‘मेरो परिवारको साथ थिएन भने मैले केही गर्न सक्दैनथें । मेरो सफलताका पछाडि उहाँहरूको भरोसा र साथ नै हो । कुनै पनि खेलाडीले अभिभावकको साथविना सफलता पाउने भनेको बिरलै हुने गर्छ ।’

एथेन्स ओलम्पिकअघि नेपाली खेलाडीले कहिल्यै पनि छनोट पार गरेर ओलम्पिकमा सहभागिता जनाउन सकेका थिएनन् । वाइल्डकार्ड नै ओलम्पिकमा नेपालको झण्डा फहराउने एकमात्र आधार थियो । तर, एथेन्स ओलम्पिकमा भने नेपालले त्यो सहारा लिनुपरेन ।

एसिया र ओसियाना क्षेत्रका लागि थाइल्यान्डको बैंककमा सम्पन्न तेक्वान्दोको ओलम्पिक छनोटमा संगीनाले अनुमान विपरीत जित हासिल गर्दै एथेन्सका लागि छनोट भइन् । त्यसअघि नै उनले हङकङमा सम्पन्न एसियाली तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक पनि जितिसकेकी थिइन् ।

‘एसियन च्याम्पियनसिपमा पदक जितेलगत्तै ओलम्पिक सपना बुन्न थालें । तर, त्यसै समयदेखि छनोट भएर ओलम्पिक खेल्नुपर्ने अवस्था भयो । तेक्वान्दोमा एसियाली राष्ट्र नै पावरहाउस थिए । त्यसैले कठिन नै थियो,’ संगीनाले सुनाइन्, ‘त्यही समय दुर्घटनामा परेर घुँडा फ्याक्चर भयो । घुँडामा स्टिल राखियो । साग (तत्कालीन साफ) को पनि तयारी थियो ।’

तर, राइट लेगमा स्टिल राखिए पनि एउटा खुट्टाकै भरमा उनले अभ्यास गरिराखिन् । दुखेको खुट्टा लुकाउँदै खेलिन् र देशलाई पदक पनि दिलाइन् । सन् १९९९ को आठौं साफमा तेक्वान्दोले डेब्यु पाउँदा उनले स्वर्ण पदक जितेकी थिइन् । लगत्तै ओलम्पिकका लागि विश्व च्याम्पियनसिप छनोट भए पनि उनी घुँडाको चोटका कारण सहभागी हुन पाइनन् ।

एसियाली क्षेत्रबाट छनोटको तयारी गरिन् र जहाँ उनले सफलता पाइन् ।

सन् २००४ को फेबु्रअरीमा ओलम्पिकको टिकट काटेकी संगीनाले त्यसको ६ महिनापछि एथेन्समा पदक जित्ने लक्ष्य भने पूरा गर्न सकिनन् । ‘ओलम्पिक प्रतिस्पर्धा भने त्यति राम्रो गर्न सकिनँ,’ संगीनालाई अझै पनि त्यो अवसर चुकेकोमा दुःख लाग्छ ।

‘यो पटक मैले सकिनँ भने खेलमा फर्कन सक्दिनँ भन्ने थियो । त्यसैले विश्व च्याम्पियनसिप प्रतिस्पर्धा छाडेर एसिया छनोटको माध्यम पर्खिराखें । मेरो दुखाइ निकै थियो । तर, दक्षिण कोरियामा आर्मी क्याम्पभित्र बसेर बैंककको तयारी ग¥यौं । जहाँ मैले सुखद नतिजा पनि पाएँ । म छनोट भएर ओलम्पिक खेल्ने पहिलो खेलाडी बनेको भन्ने कुरा त्यहीं थाहा पाएँ,’ संगीनाले त्यो क्षण बताइन् ।

सन् २००४ को फेबु्रअरीमा ओलम्पिकको टिकट काटेकी संगीनाले त्यसको ६ महिनापछि एथेन्समा पदक जित्ने लक्ष्य भने पूरा गर्न सकिनन् । ‘ओलम्पिक प्रतिस्पर्धा भने त्यति राम्रो गर्न सकिनँ,’ संगीनालाई अझै पनि त्यो अवसर चुकेकोमा दुःख लाग्छ ।

दुर्घटनाकै कारण १३औं एसियाली खेलकुद खेल्न नपाउनु उनको खेलजीवनकै सबैभन्दा ठूलो दुःखद क्षण रह्यो । आफ्नो तौल समूहमा उनी उत्कृष्ट खेलाडी थिइन् । तर, दुर्घटनाका कारण सहभागिताबाट वञ्चित हुनुप¥यो । बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

त्यो पदक नै एसियाडमा नेपालले अहिलेसम्म प्राप्त गरेको व्यक्तिगत ठूलो सफलताको रूपमा विद्यमान छ । संगीनाले सागमा तीन पदक जितेकी छन् । इस्लामाबादमा सम्पन्न नवौं संस्करणमा पनि उनले स्वर्ण पदक जितिन् । तर, श्रीलंकाको कोलम्बोमा सम्पन्न १०औं सागमा भने स्वर्णको ह्याट्रिक गर्ने अवसरबाट चुक्दै कांस्य पदकमै सीमित भइन् ।

एसियन च्याम्पियनसिपमा पदक जितेपछि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा उनले जागिर पाइन् । सम्मानस्वरूप संगीनालाई अधिकृतस्तरको प्रशिक्षकमा जागिर दिइएको थियो ।

‘त्यो जागिरले गर्दा नै ढुक्कसँग खेल्ने मनोबल बढायो । सबै खेलाडीको जीवन सुरक्षा हुने खालको वातावरण सिर्जना हुन सके नेपाली खेलाडीमा धेरै क्षमता छ । उनीहरूलाई पर्याप्त एक्सपोजर र खेल जीवनपछिको सुरक्षा आवश्यक छ,’ संगीना भोगाइसँग अनुभव बताउँछिन् ।

पछिल्ला केही दशकयता नेपाली तेक्वान्दोले एसियाली र अन्य प्रतिस्पर्धामा आशातीत प्रदर्शन गर्न नसक्दा उनलाई पनि निकै चिन्ता लागेको छ । नेपालको तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खस्किँदो प्रदर्शनप्रति उनी जानकार छन् ।

‘हाम्रो लेभल उस्तै हो । तर, अन्य देशले चाहिँ धेरै विकास गरेका छन् । हाम्रा खेलाडीले पनि खेल्ने समयमा दिमाग प्रयोग गर्न चुकिरहेका छन् । त्यो देख्दा चिन्ता लाग्छ । तर, हाम्रा खेलाडीमा धेरै क्षमता छ भन्नेमा चाहिँ ढुक्क छु,’ उनी भन्छिन् । 

नुवाकोट त्रिशूलीमा जन्मिएकी संगीनाले स्कुल जीवनमा खेलेका बिरलै खेलमा मात्र असफलताको मुख देख्नुपर्यो । त्यसो त पूरा करियरमै संगीना सधैं सफलताको पर्याय बनिरहिन् ।

सन् २०१९ मा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली तेक्वान्दो टोलीमा संगीना प्रशिक्षकको भूमिकामा थिइन् । १३औं सागमा नेपाली तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कांस्य गरी २९ पदक जित्यो, जहाँ उनको प्रत्यक्ष भूमिका पनि रह्यो ।

नुवाकोट त्रिशूलीमा जन्मिएकी संगीनाले स्कुल जीवनमा खेलेका बिरलै खेलमा मात्र असफलताको मुख देख्नुपर्यो । त्यसो त पूरा करियरमै संगीना सधैं सफलताको पर्याय बनिरहिन् ।

एकदिन एकजना दाइ पर्नेको घरमा उनले विश्व चर्चित मार्सल आर्ट्स खेलाडी ब्रुस लीको फिल्म हेरिन् । जसले उनलाई मार्सल आर्टसप्रति मोह जगायो । ब्रुस लीको फाइट, लचकता, जम्पिङ र एक्सन उनलाई खुबै मनपर्यो ।

तर, त्रिशूलीमा आफूले चाहेजस्तो मार्सल आर्टस खेल्ने अवसर थिएन । २०४७ सालमा एसएलसी दिएपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आइन् । पब्लिक युथ क्याम्पसमा भर्ना भएपनि हरेक बिहानी उनको गन्तव्य भने दशरथ रंगशाला हुन थाल्यो ।

त्यसपछि त उनले कलेज नै छाडेर तेक्वान्दो रोजिन् । कलेज जाँदा दैनिकजसो उनी रंगशालामा खेल हेर्न जान्थिन् । खेल्न थालेको ६ महिनामा नै उनले राष्ट्रिय टोलीमा स्थान बनाइन् ।

तेक्वान्दोमा संगीनाका पहिलो प्रशिक्षक थिए आमिर श्रेष्ठ । ६ महिनाजति खेलेपछि धनगढीमा २०४८ सालमा राष्ट्रिय प्रतियोगितामा भाग लिइन्, जहाँ उनले पहिलो सफलता पाइन् ।

थोरै समयमा नै सफलताका सिँढी चढ्न सुरु गरेकी उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।