कोरियन एम्बास्डर तेक्वान्दो शुक्रबारबाट

काठमाडौं, (खेलाडी)- नेपाल तेक्वान्दो संघको आयोजनामा १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५ सय ९३ खेलाडीको सहभागिता रहने तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले जानकारी गराएका छन् । ३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडीले सहभागिता जनाउने छन् । 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेमा पदक जितेका सबैजसो नेपाली खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । व्यक्तिगत स्पर्धाको पुरुष तथा महिलामा ६/६ गरी १२, पेयर र टिममा समान ६/६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा १/१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।