जैसिदेवल डोजाङ

पदक विजेता खेलाडी सम्मानित

काठमाडौं । जैशिदेवल युथ क्लबले शनिबार पदक विजेता आफ्ना खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

जैशिदेवल युथ क्लबअन्तर्गतको जैशिदेवल तेक्वान्दो डोजाङले गत हप्ता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौंमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । प्रदेश सांसद विराजभक्त श्रेष्ठ तथा जैशिदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले विजेता खेलाडीहरुलाई ‘स्पोर्ट्स सुज’ र जनही एक हजार रुपैयाँले पुरस्कृत गरे ।

आसाममा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरी सहभागी जैशिदेवल तेक्वान्दो डोजाङका ११ नै खेलाडीले पदक जितेका थिए । सो प्रतियोगितामा मुविक्क्षा गजुरेलले सब जुनियर क्याटागोरीको ग्योरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ काँस्य तथा रोजन प्रजापतिले क्याडेट क्याटागोरीको ग्योरोगीतर्फ रजत र पुम्से तर्फ काँस्यसहित दोहोरो पदक जितेका थिए । आस्ना राना मगर र झरना थापा मगरले पनि स्वर्ण पदक जितेका थिए । यसैगरी सोनी बानियाँ, राजीव गुरुङ, समर्थध्वज जोशीले रजत पदक तथा सुरेश हाङ लिम्बु, सन्देश राई, राहुल लिम्बु र समर लामाले कास्य पदक जितेका थिए । 

यसैगरी, उपत्यकाव्यापी तेक्वान्दोमा जैशिदेवल डोजाङले तीन पदक जितेको थियो ।