पारा तेक्‍वान्दो टिमलाई संघको बिदाई

काठमाडौं, (खेलाडी)- नेपाल तेक्‍वान्दो संघले टोकियो पारा ओलम्पिकमा सहभागी हुने नेपाली पारा तेक्‍वान्दो टिमलाई बुधबार बिदाई गरेको छ ।

टोकियो २०२० पारा ओलम्पिक अन्तर्गत यही भदौ १७ देखि १९ गतेसम्म हुने पारा तेक्‍वान्दो प्रतियोगितामा नेपालको तर्फबाट खेलाडी पलेशा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामाले सहभागीता जनाउनेछन् । 

संघको सातदोवाटोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रकाशसम्शेर राणा, महासचिव दीपराज गुरुङलगायतले विदाई गरे ।

सोही अवसरमा ललितपुरको धापाखेलस्थित नागदह तेक्‍वान्दो डोजाङका पदाधिकारी र प्रशिक्षकले पलेशाको सफलताको कामना सहित प्रोत्साहन स्वरुप नगद २५ हजार रुपैयाँ प्रदान गरेका थिए । 

पलेशाले वाइल्ड कार्ड मार्फत ओलम्पिक सहभागिताको अवसर पाएकी हुन् । नेपाली पारा तेक्‍वान्दो टिम यही शुक्रबार टोकियो प्रस्थान गर्नेछ ।