मेयर कप तेक्वान्दो

मेयर कप राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं । बाग्मती प्रदेश तेक्वान्दो संघको आयोजनामा शुक्रबारबाट प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपिएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष केशव पुरीले जानकारी गराए ।

प्रतियोगितामा ग्योरोगीतर्फ १६ तथा पुम्से तर्फ आठ स्पर्धा समावेश छन् । ग्योरोगीतर्फ उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।  प्रतियोगितामा तीन सय ३० खेलाडी सहभागी हुने छन् ।

प्रदेश टोलीको यातायात, खाना र बसोवास खर्च आयोजकले व्यहोर्ने अध्यक्ष पुरीले बताए । प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं महानगरपालिका रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । अन्य प्रायोजकमा ललीतपुर महानगरपालिका, गोदावरी नगरपालिका र नागार्जुन नगरपालिका छन् ।

दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।