पारा ओलम्पिकमा तेक्‍वान्दोकी पलेशाको सहभागिता निश्‍चित

काठमाडौं, (खेलाडी)- नेपाली पारा तेक्‍वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारा ओलम्पिक २०२० मा सहभागिताका लागि वाइल्डकार्ड पाएकी छिन् । 

नेपाल तेक्‍वान्दो संघले आज जारी गरेको विज्ञप्तीअनुसार वाइल्डकार्ड प्राप्त गरेकी पलेशाले आगामी भदौ १७ देखि १९ सम्म जापानको टोकियोमा हुने पारा ओलम्पिकमा तेक्‍वान्दो ४४ देखि ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । 

पारा ओलम्पिकमा नेपाली तेक्‍वान्दो खेलाडीले प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । गत जेठ ७ गते जोर्डनको अम्मानमा भएको पारा ओलम्पिक छनोटमा कोभिड १९ महामारीका कारण लागेको भ्रमण प्रतिबन्धले नेपाली खेलाडीको सहभागिता बञ्‍चित गरेको थियो । जसका कारण नेपाली खेलाडी अन्तर्राष्‍ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले प्रदान गर्ने वाइल्डकार्डमा निर्भर हुनु परेको थियो । अम्मानमा नेपालबाट पलेशासहित ६ खेलाडीले भाग लिने तयारी थियो ।