सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता

सम्झना कपः नेपाल प्रहरीलाई स्वर्ण

काठमाडौं । नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा स्वर्ण जितेको छ ।

प्रहरीले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबार भएको फाइनलमा  कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

महिला डबल्समा प्रहरीका मन्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११-९, ११-६ र ११-९ को सोझो सेटमा पराजित गरे ।

महिला सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले दिया देउलालाई सीधा सेटमा ११-४, ११-५ र ११-८ ले हराइन् । अर्को सिंगल्समा एलिनाले रविनालाई ११-४, ३-११, ५-११, ११-४ र ११- ७ ले पाखा लगाइन् ।

ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुली पहिलो भइन् । इन्दिराले फाइनलमा आफ्नै क्लबकी सम्झना पोखरेललाई ११-६, ११-५ र ११-४ को सोझो सेटमा पन्छाइन् । लगनखलकी हीरादेवी नकर्मी र ज्ञानभैरवकी सविता बस्नेत केसी तेश्रो भए ।

सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि.को मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न सात  स्पर्धामा दुई सय पुरुष र ५६ महिला गरी कुल दुई सय ५६ खेलाडी सहभागि छन् ।

पुरुषमा भारतबाट नौ , बेलायतबाट दुई  तथा फ्रान्स र पोर्चुगलबाट समान एक  खेलाडी सहभागि छन् । महिलामा विदेशी खेलाडी सहभागि छैनन् ।
सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यसैगरी भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथिमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले पाँच हजार रुपैयाँ  प्राप्त गर्नेछन् ।