टेबल टेनिस

आइटिटिएफ लेभल टु सम्पन्न

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भएको आइटिटिएफ लेभल टु कोर्स आइतबारसम्पन्न भएको छ ।

दश दिनसम्म चलेको कार्यक्रममा सहभागीले उच्च प्रदर्शन गरेको संघले जनाएको छ । आइटिटिएफका प्रशिक्षकलाई प्रशिक्षण दिने मलेसियाली विशेषज्ञ क्रिस्टिना चीले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

यस कार्यक्रमबाट नेपाली टेबल टेनिसका लागि थप दक्ष जनशक्ति तयार भएको संघका अध्यक्ष चतुरानन्दराज बैद्यले बताए ।

उनका अनुसार कार्यक्रमपछि नेपालमा १३ जना लेभल टु प्रशिक्षक थपिएका छन् र त्यसमध्ये आठ जनाले ‘अपग्रेड’ समेत प्राप्त गरेका छन् । अब नेपालमा लेभल थ्री प्रशिक्षणका लागि योग्य कुल ११ अपग्रेड लेभल टु प्रशिक्षक भएका छन् । लेभल टु प्रशिक्षकले कुनै पनि देशको राष्ट्रिय टिम सम्हाल्न सक्नेछन् ।

नेपाल ओलम्पिक कमिटीको सोलिडारिटी कार्यक्रमअन्तर्गत भएको कार्यक्रममा बोल्दै दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव शंकर गौत्तमले यसपल्टको प्रशिक्षण कार्यक्रममा सफलताको प्रतिशत उच्च रहेको बताए ।

यस्तै प्रशिक्षक चीले सहभागीलाई नेपालको टेबल टेनिस विकासमा संलग्न हुन अनुरोध गरिन् । यस्तै समापन कार्यक्रमका मुख्य अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासका लागि दक्ष प्रशिक्षकको आवश्यकता रहेकोमा जोड दिंदै कार्यक्रममा सहभागीले नेपाली टेबल टेनिसको विकासमा टेवा दिने विश्वास व्यक्त गरे ।