टेबल टेनिस

टेबल टेनिसमा पाँच पदकको प्रतिस्पर्धा सम्पन्न: पुलिसलाई चार तथा एपिएफलाई एक स्वर्ण

पोखरा । विभागीय टिमहरु नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपिएफ)ले नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत टेबल टेनिसमा बर्चस्व कायम गरेका छन् ।

पोखरा रामबजारस्थित कोल्मा बाहकोट तमु समाजको हलमा जारी टेबल टेनिस प्रतियोगितामा समावेश कुल सात इभेन्ट्समध्ये सोमबार बिहानसम्म पाँच इभेन्टसको छिनोफानो हुँदा पुलिसले चार तथा एपिएफले एक स्वर्ण पदक जितेका छन् ।

पहिलो दिन शनिबार पुरुष र महिला दुवैको टिम इभेन्ट्समा स्वर्ण पदक जितेको पुलिसले पुरुष युगल र मिश्रित युगलमा पनि स्वर्ण पदक जित्यो ।

पुरुष युगलमा पुलिसका स्यान्टु श्रेष्ठ विनेश खनियाको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमललाल मल्लको जोडीलाई सोझो सेटमा हरायो । एपिएफले रजत पदक जित्दा पुरुष युगलमा प्रदेश एक र त्रिभुवन आर्मी क्लबले कांस्य पदक जिते ।

सेमिफाइनलमा बोधित डिसी र विश्व बानिया रहेको प्रदेश एकको टोली पुलिस तथा कृष्ण थापा मगर र नारायण घिमिरे रहेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब एपिएफसँग पराजित भएका थिए ।

यसैगरी महिला युगलमा शिक्का सुवाल श्रेष्ठ र बियान्का राईको जोडीले एपिएफलाई स्वर्ण पदक जिताए । पुलिसविरुद्धको फाइनलमा उनीहरुले नविता श्रेष्ठ र इलिना महर्जन रहेको पुलिसको टोलीलाई ३-२ को नतिजामा हराएका थिए । पुलिसले रजत पदक जित्यो ।

महिला युगलमा बागमती र नेपाल पुलिसको अर्को जोडीले कांस्य पदकमा चित्त बुझाए । मञ्जु सुवाल र यशस्वी अवाल रहेको पुलिसको अर्को जोडी सेमिफाइनलमा एपिएफ तथा अञ्जु सुवाल र दिया देउला रहेको बागमतीको जोडी पुलिससँग पराजित भएको थियो ।

मिश्रित युगलको फाइनलमा सेनाका नारायण घिमिरे र स्वेच्छा नेम्वाङको जोडीलाई ३-२ को नतिजामा हराउँदै पुलिसका विनेश खनिया र इलिना महर्जनको जोडीले स्वर्ण पदकमा नाम लेखाए । सेनाको जोडीले रजत पदकमा चित्त बुझायो ।

सेमिफाइनलमा सेनाको जोडीसँग ३-१ ले पराजित दीप साउन र सुनिता लामा रहेको गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को टोली र गण्डकीका बुद्धिमन गुरुङ र मुना थापाको जोडीले कांस्य पदक हात पारे । सेमिफाइनलमा बुद्धिमन र मुनाको जोडीले पुलिसलाई ३-० को सोझो सेटमा नतिजा सुम्पिएको थियो ।

अहिलेसम्मका नतिजाअनुसार टेबल टेनिसमा पुलिस चार स्वर्ण एक रजत र एक कांस्य पदक जित्दै सबभन्दा अगाडि छ । एपिएफले एक स्वर्ण र दुई रजत पदक जितेको छ । यसैगरी आर्मी र बागमतीले समान एक रजत र दुई कांस्य, एनआरएनए र प्रदेश एकले दुई÷दुई कांस्य तथा गण्डकीले एक कांस्य पदक जितेका छन् ।

बुधबारसम्म टेबल टेनिसको प्रतियोगितामा सोमबारबाट महिला तथा पुरुष एकलका खेलहरु सुरु भएका छन् ।