जुनियर तथा क्याडेट टेबल टेनिस

बोधित र सुस्मितालाई स्वर्ण

काठमाडौं । मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा आइतबार स्वर्ण पदक जितेका छन् । जुनियर सिंगल्सको ब्वाइजमा बोधित तथा गर्ल्समा सुस्मिताले स्वर्ण जितेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा बोधितले एभीएमका रुविन महर्जनलाई १२-१०, १३-११ र ११-५ को सोझो सेटमा पराजित गरे । नुवाकोटका गनन्जय दाहाल र काठमाडौंका हिमाल विष्ट तेश्रो भए । गर्ल्सको उपाधि भिडन्तमा सुस्मिताले एभीएमकी वियांका राईलाई ११-९, ११-८ र १३-११ को सीधा सेटमा हराइन् । प्रभातकी अन्जु सुवाल र कान्तिपुर पिङपोङ क्लबकी प्रणिका कुँवर तेश्रो भए । शीर्ष तीन स्थानमा रहनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको क्याडेट गर्ल्स सिंगल्समा एभीएमकी इभाना थापा मगर पहिलो भइन् । इभानाले फाइनलमा मोर्डन कलेजकी दिया देउलालाई ११-४, १२-१० र ११-४ को सोझो सेटमा पाखा लगाइन् । नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ र प्रोक्सिमाकी नर्वदा खाइतु तेश्रो बने । विजेताले ७ हजार ५ सय, उपविजेताले ३ हजार ५ सय र तेश्रोले २ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।