राष्ट्रिय जुनियर तथा क्याडेट प्रतियोगिता

क्याडेट ब्वाइजको उपाधि एलेनलाई

काठमाडौं । एभीएमका एलेन महर्जनले एभरेस्टका आर्यन शाहीलाई कडा प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै शनिबार कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट प्रतियोगिताको क्याडेट ब्वाइज सिंगल (यू-१५) उपाधि जितेका छन् । लैनचोरको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलेन १०-१२, १२-१०, ११-८, ८-११ र ११-३ ले विजयी भए ।

सोही स्पर्धामा काठमाडौंका शंकर पहारी र बुटवल टेबलटेनिस एकेडेमीका विसु सुनार तेस्रो भए । आइतबार अन्तिम दिन तीन स्पर्धाको फाइनल हुनेछ । त्यसमध्ये जुनियर ब्वाइज (यू-१९) को फाइनल एभीएमका रुबिन महर्जन र मोरङका बोधित डीसीबीच हुनेछ । पहिलो सेमिफाइनलमा रुबिनले नुवाकोटका ज्ञनन्जय दाहाललाई ९-११, ११-६, ११-७ र ११-९ ले पराजित गरे ।

बोधितले भने काठमाडौंका हिमाल विष्टलाई १२-१०, ९-११, ११-९ र ११-९ ले पराजित गरे । क्याडेट गर्ल्स यू-१५) को फाइनलमा एभीएमकी बियन्का राई र आर्मीकी सुस्मिता खड्काबीच हुनेछ । यस्तै जुनियर्स गर्ल्स (यू-१९) को उपाधि भिडन्तमा एभीएमकी इभान थापा मगर र भुक्तपुरकी दिया देउला उत्रने छन् ।