अध्यक्ष बैद्य काउन्सिल सदस्यमा सर्वसम्मत

काठमाडौं (खेलाडी)- अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्य एसियन टेबल टेनिस युनियन (एटिटीयू) को काउन्सिल सदस्य चयन भएका छन् । 

आइतबार कतारको दोहामा भएको एटिटियूको कांग्रेसले बैद्यलाई काउन्सिल सदस्यमा चयन गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । कतारमा भइरहेको २५ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपको अवसरमा एटिटियूको कंग्रेस बैठक पनि बसेको थियो ।

काग्रेस बैठकले बैद्यलाई चार वर्षका लागि काउन्सिल सदस्यमा सर्वसम्मत चयन गरेको बैद्यले दोहाबाट जानकारी गराएका छन् । 

नेपाल एटिटियूको संस्थापक सदस्य भएको आधारमा बैद्यलाई एसियाली टेबल टेनिसको महत्वपूर्ण जिम्मेवारी दिइएको हो । बैद्य एटिटियूको सदस्यमा चयन भएको यो दोस्रो पल्ट हो ।

यस्तै टेबल टेनिस प्रशिक्षक शंकर गौतम एटिटियूको दक्षिण एसियाबाट उपाध्यक्षमा चयन भएका छन् । यस पदका लागि भारत र नेपालका पदाधिकारी चयन भएकोमा गौतमले चार वर्षे कार्यकालको दोस्रो दुई वर्ष क्षेत्रीय उपाध्यक्षको रुपमा काम गर्ने छन् । भारतीय प्रतिनिधिले पहिलो दुई वर्ष जिम्मेवारी सम्हाल्ने निर्णय बैठकले गरेको  हो ।

एटिटियूको थप तीन कमिटीमा नेपाली प्रतिनिधिको चयन सदस्यका रूपमा भएको छ । त्यस अनुसार एटिटियू अन्तर्गतको प्राविधिक कमिटीमा अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष तेजेन्द्रसिंह महरा, भेट्रान, एजुकेसन एन्ड ट्रेनिङ कमिटीमा अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा मिडिया कमिटीमा हिमेशरत्न वज्राचार्य चयन भएका छन् । यसको कार्यकाल पनि चार वर्षको हुनेछ ।

एटिटियूमा नेपाल प्रतिनिधिको यो चयनले एसियाली टेबल टेनिसमा नेपालको बलियो र महत्वपूर्ण उपस्थिति रहने अध्यक्ष बैद्यले बताएका छन् । उनले भने, ‘एसियाली टेबल टेनिस युनियनको संस्थापकमध्ये एक नेपाल पनि हो र यस क्षेत्रको टेबल टेनिसमा नेपालको जहिले पनि बलियो र सक्रिय उपस्थिति रहेको छ । अब यो क्रम आउने चार वर्षमा पनि कायम रहनेछ ।’