पाँचौ सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता

सम्झना कपः विनेश र नवीता च्याम्पियन

काठमाडौं । विनेश खनियाँ र नवीता श्रेष्ठले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।  

नेपाल प्रहरी क्लबका विनेश मेन्स तथा नवीता वुमन्स सिंगल्समा च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शनिबार सम्पन्न् पुरुष फाइनलमा विनेशले भारतको ग्लोबल टेबल टेनिस एकेडेमीका सन्तोष कुमार रमेशलाई ७-११, ११-५, ११-९, १५-१३, १०-१२ र ११-३ को सेटमा पराजित  गरे । भारतको वाइल्ड कार्डका प्रशन्न कुमार र ग्लोबलका भ्रिसिन बभनका तेश्रो भए ।

महिला सिंगल्समा नौ पटककी राष्ट्रिय च्याम्पियन नवीताले कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जनलाई ११-२, ११-३, ११-३ र ११-५ को सोझो सेटमा हराइन् । प्रहरीकी एलिना महर्जन र कान्तिपुरकी दिया देउला तेश्रो बने ।

विभिन्न सात स्पर्धा समावेश प्रतियोगिताको टिम इभेन्ट तर्फ पुरुषमा ग्लोबल तथा महिलामा प्रहरीले स्वर्ण जितेका थिए । त्यस्तै भेट्रानको पुरुष सिंगल्स ४० वर्षमाथि गल्कोपाखा समाज सेवाका चन्दन शाही तथा ५५ वर्षमाथि एनसीसीएसका कपुर शर्मा पौडेल पहिलो बनेका थिए ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लबकी इन्दिार पौडेल पराजुलीले स्वर्ण जितेकी थिइन् । पुरुष÷महिला सिंगल्स तथा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए । 

भेट्रानमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेपका)  सदस्य-सचिव टंकलाल घिसिङ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, सम्झनाकी प्रमुख कार्यकारी अधिकृत रजना जोशी, आयोजक क्लबका अध्यक्ष उर्दिप जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगिताको समापन कायैक्रममा चार पटकका  राष्ट्रिय च्याम्पियन पूर्व टेबल टेनिस खेलाडी दिगम्बरमान सुवाललाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो । मिस नेवा सलिना महर्जन पनि सम्मानित भइन् ।

पाँच दिने प्रतियोगितामा दुई सय पुरुष र ५६ महिला गरी दुई सय ५६ खेलाडी सहभागी थिए ।