बास्केटबल

बागमती पुरुष बास्केटबलको सेमिफाइनलमा

फाइल तस्वीर ।

पोखरा । सोनम महर्जनको उच्च स्कोर प्रेरित बागमती प्रदेशले मंगलबार नेपाल पुलिसमाथि रोमाञ्चक जित हासिल गर्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशाला परिसरमा रहेको बास्केटबल कोर्टमा मंगलबार बिहान भएको समूह ‘ए’ को खेलमा बागमतीले ६६-६४ को प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो ।

बागमतीको जितमा सोनमले सर्वाधिक १३ स्कोर गरे । पहिलो क्वार्टरमा १६-७ को अग्रता लिएको बागमतीको लय दोस्रो र तेस्रो क्वार्टरमा भने धर्मराएको थियो । दोस्रो क्वार्टरमा १७-२५ ले पछि परेको टोली तेस्रो क्वार्टरमा पनि १६-१७ ले पछाडि पर्यो । अन्तिम क्वार्टरमा १७-१५ को अग्रता लिँदै बागमतीले समूहबाट दोस्रो टोलीका रुपमा अन्तिम चारको यात्रा गरेको हो । पुलिसका लागि विपसन केसीले गरेको १५ स्कोर टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

समूहबाट यसअघि नै सबै चार खेलमा जित हासिल गर्दै आर्मी सेमिफाइनल पुगिसकेको थियो । समूह ‘बी’बाट भने सशस्त्र प्रहरी बल (एपिएफ) सेमिफाइनल प्रवेश गरेको छ । आज कर्णाली प्रदेशविरुद्ध हुने खेलमा जित हासिल गरे उक्त समूहबाट घरेलु टोली गण्डकीले पनि अन्तिम चारको यात्रा तय गर्नेछ ।