साबा महिला बास्केटबल

साबा च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको सहज जित

माले । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले अन्तिम खेलमा भुटानमाथि सहज जित निकालेको छ । बुधबार माल्दिभ्समा सम्पन्न खेलमा नेपालले भुटानलाई ६५-२६ ले पराजित गर्यो ।

नेपालले यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हारको नतिजा निकालेको थियो । नेपाल पहिलो खेलमा आइतबार घरेलु टिमसँग ५१–४७ को साँघुरो नतिजामा पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने नेपालले साविक विजेता श्रीलंकालाई ५५–४९ ले पराजित गरेको थियो ।

नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स मात्रै सहभागी भएकाले राउन्ड पद्धतिमा जारी प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टिम च्याम्पियन हुनेछ । 

आजै हुने खेलमा राति ०९ः१५ बजे घरेलु टिम माल्दिभ्सले श्रीलंकासँग खेल्दैछ । श्रीलंकालाई हराए माल्दिभ्सले प्रतियोगिताको उपाधि जित्नेछ । यस्तै, श्रीलंकाले जिते नेपाल र माल्दिभ्ससहित तीन टिमको अंक बराबरी हुनेछ ।

दक्षिण एसियाली बास्केटबल संघ (साबा) महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो ।

यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।