साबा महिला बास्केटबल

साबा च्याम्पियनसिपः नेपालले भुटानसँग खेल्ने

माले । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज तेस्रो तथा समूह चरणको अन्तिम खेल खेल्दैछ । मालेस्थित सोसियल सेन्ट इन्दोर हलमा हुने खेल नेपाली समयअनुसार दिउँसो ०४ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हारको नतिजा निकालेको थियो । नेपाल पहिलो खेलमा आइतबार घरेलु टिमसँग ५१–४७ को साँघुरो नतिजामा पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने नेपालले साविक विजेता श्रीलंकालाई ५५–४९ ले पराजित गरेको थियो ।

नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स मात्रै सहभागी भएकाले राउन्ड पद्धतिमा जारी प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टिम च्याम्पियन हुनेछ ।

दक्षिण एसियाली बास्केटबल संघ (साबा) महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो ।

यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।