क्विक्स/ग्रिनल्यान्ड कप

भ्याली पब्लिक र एन्जल्स हार्ट विजयी

काठमाडौं । भ्याली पब्लिक र एन्जल्स हार्टले १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भ्याली पब्लिकले लक्ष्मीपुरलाई २१-११ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा छिम्मे तामाङले १४ अंक योगदान गरे । प्रतीक कँडेलको १४ अंक सहयोगमा एन्जल्स हार्टले स्कोलर्स होमलाई १८-६ ले हरायो । ग्रिनफिल्डले सेबलाई १३-७ ले पाखा लगायो । ग्रिनफिल्डका पुजन उप्रेतीले ९ स्कोर गरे ।

सिनियर गल्र्समा भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमीलाई ३२-१२ तथा पृथ्वीले फेरिल्यान्डलाई २५-२४ ले निराश पारे । भ्याली पब्लिकका एन्जल गुप्ता र अनिता गुरुङले समान ११-११ तथा पृथ्वीकी दावा छिरिङ गुरुङले १३ अंक बटुले ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले सेन्ट जोसेफलाई ४२-३०, ग्रिनल्यान्ड ‘ए’ ले पृथ्वीलाई ४६-३५, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले फेरिल्यान्डलाई ४५-२५ र ग्रिनफिल्डले स्कोलर्स होमलाई २९-१९ ले पन्छाए । भ्याली पब्लिकका अनमोल गुरुङले १४, ग्रिनल्यान्डका दिवस भुजेलले १९, बीएनएका सन्देश खड्काले १९ र ग्रिनफिल्डका सुशान्त कार्कीले २० अंक जोडे ।