क्विक्स/ग्रिनल्यान्ड कप

ग्रिनल्यान्ड र पृथ्वीको विजयी सुरुआत

काठमाडौं । आयोजक ग्रिनल्यान्ड र पृथ्वीले १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा शुक्रबार विजयी सुरुआत गरेका छन् ।

ग्रिनल्यान्डले फेरिल्यान्डलाई २०-१२ ले पराजित गर्यो । ग्रिनल्यान्डको जितमा जेनिशा श्रेष्ठले ७ अंक योगदान गरिन् । बबिता घिमिरेको ९ अंक सहयोगमा पृथ्वीले लालीगुराँस नेसनल एकेडेमीलाई २०-१० ले हरायो ।

सिनियर ब्वाइजमा टिआइएले फेरिल्यान्डलाई २९-१८, सेन्ट जोसेफले स्कोलर्स होमलाई ३८-१० र गोल्डेनपिकले पृथ्वीलाई ३३-१७ ले हराए । टिआइएका स्वीकृत अधिकारीले १३, सेन्ट जोसेफका निकेश तामाङले १२ र गोल्डेनपिकका दिनेश रपालले १३ अंक जोडे ।

धापासीस्थित आफ्नै कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा गोल्डेनपिकले स्कोलर्स होमलाई १७-८, लालीगुराँसले ग्रिनल्यान्डलाई १९-११ र बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले ओडिसीलाई २३-१३ ले पन्छाए । गोल्डेनपिकका डायमन्ड राईले ९ तथा बीएनएका सेशाङ गुरुङले ९ स्कोर गरे ।

प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे ।

भदौ ११ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १४ र सिनियर गर्ल्समा ९ टिम सहभागी छन् ।