लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

रोयल ‘लामा टेन्डी शेर्पा स्मृति बास्केटबल’ को फाइनलमा

काठमाडौं । रोयल बास्केटबल एकेडेमी सोमबार लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

पाँच टिम सहभागी महिलाको राउन्ड रोविन लिगमा शतप्रतिशत जित निकाल्दै विजेताका रुपमा रोयल फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा रोयलले रुपन्देहीलाई ८६–४० को अन्तरले पराजित गर्यो ।

रोयलकी मनता गुरुङले सर्वाधिक १६ स्कोर गरिन् । त्यसअघिका लिगमा रोयलले ललितपुर हाइ, नेपाल प्रहरी क्लब र कीर्तिपुर नगरपालिकाविरुद्ध जित निकालेको थियो  ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोयल र नेपाल आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पहिलो क्वार्टरफाइनलमा रोयलले कीर्तिपुर नगरपालिकालाई ७०–६४ ले पराजित गर्यो । रोयलका निकेश मगर १६ स्कोर गरे ।

दोश्रो क्वार्टरफाइनलमा आर्मीले क्याम्पियन सोलोमाथि ७८–५६ को जित निकाल्यो । आर्मीका लागि सौरव श्रेष्ठले २३ स्कोर गरे ।