अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता

रोयल बास्केटबल र स्कल क्यान्डीले विजयी सुरुआत

काठमाडौं । ‘प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता’मा आइतबार रोयल बास्केटबल र स्कल क्यान्डीले विजयी सुरुआत गरेका छन् ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा रवि पौडेलको १३ अंकप्रेरित रोयलले गोड्सलाई ५८-३३ ले हरायो ।  

चारै क्वाटरमा अग्रता बनाएकाे रोयलले पहिलोमा १२-२, दोश्रोमा १२-८ र तेश्रोमा १२-११ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटरमा रोयलले २२-१२ स्कोर निकाल्दै फराकिलो जित दर्ता गर्यो ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा स्कलले क्याम्पियनमाथि ५९-५७ को झीनो जित निकाल्यो ।

तेश्रो क्वाटरको समाप्तिसम्म ३३-३९ ले पछि परेको स्कलले चौथो क्वाटर २६-१८ ले आफ्नो पक्षमा पार्दै जित पक्का गर्यो । त्यसअघि स्कलले पहिलो क्वाटरमा ११-१३, दोश्रोमा १३-१२ र तेश्रोमा ९-१४ स्कोर गरेको थियो ।

आयोजक शिव सेना नेपाल, ललितपुरका अध्यक्ष रविन्द्र अवालेका अनुसार लिग कम नकआउट पद्दतीमा भइरहेको प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । यस्तै ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद पाउने छन् ।