शाहको परिवारलाई कर्मचारी संघको आर्थिक सहयोग

काठमाडौं, (खेलाडी)- राष्‍ट्रिय खेलकु‍द परिषद् (राखेप) अन्तर्गत सानका दिभंगत प्रशासकीय अधिकृत विकासविक्रम शाहको परिवारलाई बुधबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

राखेपमा कार्यरत स्थायी कर्मचारीहरुको जेठ महिनाको तलबबाट १.५ प्रतिशत रकम कट्टा गरी संकलन भएको २ लाख ५७ हजार ८७ रुपैयाँ शाहको परिवारलाई प्रदान गरिएको हो । 

राखेप कर्मचारी संघका अध्यक्ष रञ्‍जन थापाले शाहका भाइ विशालविक्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको राखेपले जनाएको छ । शाहको गत चैत १६ गते निधन भएको थियो ।

राखेप कर्मचारी संघको अगुवाईमा कर्मचारी विरामी पर्दा वा कर्मचारीको निधन हुँदा यस्तो सहयोग गर्ने परम्परा रहँदै आएको छ ।