ओलम्पिक सोचेभन्दा सफल

टोकियो, (खेलाडी ) – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले टोकियो ओलम्पिक २०२० असफल होला भन्ने डर भए पनि प्रतियोगिता सोचेभन्दा सफल भएको बताएका छन् ।
कोभिड १९ महामारीका कारण अहिले पनि जापानका टोकियोलगायत अधिकांश सहरमा स्वास्थ्य संकटकाल लगाइएको छ ।

विदेशी समर्थकमाथि यसअघि नै रोक लगाएको जापान सरकारले प्रतियोगिताका अधिकांश खेलस्थलमा स्थानीय दर्शक प्रवेशमा रोक लगाएको थियो ।

‘खेलाडीहरूले प्रतियोगितालाई मूर्त रूप दिए,’ बाचले भने, ‘मैले टोकियो ओलम्पिक आयोजना भएमा त्यसले कुनै रौनकता नल्याउने र समग्र प्रतियोगिता नै नाम मात्रको हुने अनुमान गरेको थिएँ । तर हामी भाग्यमानी रह्यौं । प्रतियोगिता हामीले सोेचेभन्दा फरक भयो । टोकियो ओलम्पिक २०२० यसअघिका संस्करणभन्दा धेरै गुणा माथि रह्यो ।

‘खेलाडीहरूले कोभिड १९ संक्रमणको त्रासका बीच उत्कृष्ट प्रदर्शन गरिरहेका छन्,’ बाचले थपे, ‘अन्योलबीच प्रतियोगिता आयोजना भएकोमा उनीहरू सन्तुष्ट छन् ।’

कोभिड १९ महामारीका कारण गत वर्ष नै आयोजना हुनुपर्ने ओलम्पिक र पारा ओलम्पिक एक वर्ष पछि धकेलिएका थिए । सन् १८९६ मा आधुनिक ओलम्पिक सुरु भएपछि प्रतियोगिता स्थगित हुँदै पर धकेलिएको यो नै पहिलो पटक थियो ।

यसअघि बाचले कोभिड १९ महामारीका कारण टोकियो ओलम्पिक २०२० एक वर्ष पछि धकेलिई जापानी नागरिकको तीव्र असन्तुष्टिका बावजुद प्रतियोगिता आयोजनालाई लिएर दुबिधा बढेकाले धेरै रात निदाउन नसकेको खुलासा गरेका थिए ।

‘मैले कहिल्यै पनि प्रतियोगिताको तयारीलाई लिएर चिन्तित हुनु परेन,’ बाचले भने, ‘मैले जहिल्यै पनि भन्ने गरेको छु कि टोकियोले गरेको तयारी निकै सन्तोषजनक थियो । मेरो मुख्य चिन्ता भनेको खेलाडीलाई कसरी कोभिड १९ को संक्रमणबाट सुरक्षित राख्ने भन्नेमै थियो । अर्को चिन्ता भने खाली मैदानमा गरेको प्रदर्शनबाट खेलाडीहरू कसरी सन्तुष्ट हुन्छन् भन्ने थियो ।  खेलाडीहरूले स्वाभाविक प्रदर्शन गर्दै विभिन्न माध्यमबाट उनीहरूको खेल हेरिरहेका दर्शकलाई समेत खेलको मज्जा दिए ।’