हृदयाघातपछि पनि स्वर्ण

सिजोका, ( खेलाडी )– नेदरल्यान्ड्सकी सान ब्रस्पेनिक्स ६ वर्षअघि हृदयाघात भएपछि कमैले मात्र उनले खेलजीवनलाई निरन्तरता दिन्छिन् भन्ने अनुमान गरेका थिए । तर ओलम्पिक स्वर्ण सपना साकार पार्न भन्दै ब्रस्पेनिक्स खेलमा फर्किइन् र अन्तत: बिहीबार महिला ट्रयाक साइकलिङमा स्वर्ण जितिन् ।

ब्रस्पेनिक्सले स्वर्ण जित्ने क्रममा न्युजिल्यान्डकी एलिसे एन्ड्य्रिुजलाई ०.०६१ सेकेन्डले पछि पारिन् । यस विधामा क्यानाडाकी लौराने जेनेस्टले कांस्य पदक जितिन् ।

नेदरल्यान्ड्सले टोकियो ओलम्पिक २०२० को साइक्लिङतर्फ आफ्नो दरिलो उपस्थिति प्रमाणित गर्ने क्रममा ८ पदक जितेको छ, जसमध्ये ४ वटा स्वर्ण पदक रहेको छ । त्यस्तै ब्रिटेनले पनि साइक्लिङतर्फ ४ स्वर्ण पदक जितेको छ ।

सन् २०१५ मा एक प्रतियोगितादौरान असहज महसुस गरेपछि ब्रस्पेनिक्सलाई अस्पताल पुर्‍याइएको थियो,जहाँ उनलाई हृदयाघात भएको पुष्टि भएको थियो । सो घटनापछि ३० वर्षे ब्रस्पेनिक्सको खेलजीवन अन्त्य भएको अनुमान गरिएपछि उनी त्यसलाई गलत साबित गर्दै मैदान फर्किएकी थिइन् ।

‘मैले सो घटनापछि मेरो खेल जीवन अन्त्य भयो भन्ने सोचें,’ उनले भनिन्, ‘मलाई रेसकै दौरान अस्वस्थ भएपछि अस्पताल पुर्‍याइएको थियो । जहाँ मलाई हृदयाघात भएको पुष्टि भयो । अवस्था पक्कै सहज थिएन । मलाई अभ्यासमा फर्कन समेत कठिन थियो । करिब ७ महिनापछि मात्र मलाई चिकित्सकले अभ्यास सुचारु गर्न ग्रिन सिग्नल दिएका थिए । मलाई स्वाभाविक लयमा फर्कन पनि सहज थिएन ।

‘मलाई स्वाभाविक लयमा फर्कन केही वर्ष लाग्यो । लगातारको मिहिनेतले ममा आत्मविश्वास फर्कियो,’  ब्रस्पेनिक्सले भनिन्, ‘मैले आफैँ पनि चिकित्सकको सल्लाहमा औषधी सेवन गरिरहेको छु । परिवार, साथीभाइ, प्रशिक्षक र चिकित्सककै हौसलामा म आज ओलम्पिकमा स्वर्ण जित्न सफल भएँ । म अहिले मानसिक र शारीरिक रूपमा फिट छु ।’