बाइल्स बाहिरिँदा अमेरिका रजतमा सिमित

टोकियो, (खेलाडी)- स्वास्थ्य अवस्था खराव भएको भन्दै सिमोन बाइल्सले जिम्न्यास्टिक टिमबाट नाम फिर्ता लिँदा अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला टिम इभेन्ट्समा मंगलबार रजत पदकमा चित्त बुझाउनु परेको छ । 

२४ वर्षीय बाइल्सले पहिलो चरणको खेलअन्तर्गत ओलम्पिक करियरकै सबैभन्दा कमजोर प्रदर्शन गर्दा अमेरिकाले रजत पदकमा चित्त बुझाएको छ । बाइल्सको खराब प्रदर्शन हुँदा उनले १३.७६६ अंक बटुलेकी थिइन् । त्यसपछि चोटलाई कारण देखाउँदै नाम फिर्ता लिएकी बाइल्सको स्थानमा जोर्डन चायल्स टोलीमा जोडिएकी थिइन् । सोही स्पर्धामा रुसले च्याम्पियन हुँदै स्वर्ण पदक जित्दा बेलायतले कांस्य पदक जितेको छ । 

बाइल्सको बहिर्गमन स्वास्थ्य समस्याका कारण भएको अमेरिकी जिम्न्यास्टिक संघले जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरेर अमेरिकाले स्वास्थ्यको विषयमा थप जोखिम नलिने बताएको हो । 

बाइल्स अमेरिकी जिम्न्यास्टिककी सफल खेलाडी रूपमा परिचित छन् । बाइल्स चार स्वर्ण तथा रियो ओलम्पिककी कांस्य पदक विजेता हुन् ।