पदक जित्‍नेले फोटो खिच्‍न मास्क खोल्न पाउने

टोकियो, (खेलाडी)- ओलम्पिकमा पदक जित्‍ने खेलाडीले पोडियममा पुगेपछि फोटो खिच्‍नका लागि केहीबेरका लागि मास्क खोल्न पाउने भएका छन् ।

कोभिड १९ महामारीका बीच कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्दै जापानको टोकियोमा जारी ओलम्पिकमा आयोजकले पदक जित्‍ने खेलाडी पोडियममा पुगेपछि ३० सेकेन्डसम्म विना मास्क रहन पाउने जनाएको छ ।

कोभिड १९ को स्वास्थ्य मापदण्डका कारण ओलम्पिकमा सबै खेलाडीले पदक ग्रहण गर्दा मास्क लगाएर नियमको पालना गरेका छन् । तर, महामारीका कारण एक वर्ष ढिला गरी आयोजना भएको ओलम्पिकमा आइओसीले पदक ग्रहण गर्दाको नियम संशोधन गरेको छ । 

नियम संशोधनपश्‍चात् खेलाडीले पोडियममा रहँदा फोटोग्राफरलाई संकेत गरेर मास्क निकाल्न सक्छन् । कोभिड १९ कै कारण आयोजकले दैनिकजसो खेलाडीमा कोरोना परीक्षण पनि गरिरहेको छ । आइओसीका प्रवक्ता एडम्सले खेलाडीहरूलाई नियमको दुरुपयोग नगर्न र आग्रहबिना मास्क नखोल्न सचेत गराएका छन् ।