चीनलाई तीन स्वर्ण

 
टोकियो, (खेलाडी)– चीनले शनिबार टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा इक्वेडरका साइक्लिस्ट रिचार्ड क्रपाजले रोड रेसतर्फ स्वर्ण पदक जितेका छन् ।

कोभिड १९ महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२० शुक्रबार उद्घाटन भए पनि खेलहरू भने शनिबारबाट मात्र सुरु भएका हुन् । यद्यपि महिला तथा पुरुष फुटबलका साथै ह्यान्डबल भने मंगलबारबाटै सुरु भैसकेका छन् । शनिबार पहिलो दिन ११ स्वर्ण पदकको छिनोफानो हुँदा चीनले ३ तथा आयोजक जापान, इक्वेडर, इरान ,दक्षिण कोरिया, कोसोभो, हंगेरी, थाइल्यान्ड र इटालीले स्वर्ण पदक जिते ।

चीनले सुटिङ, भरोत्तोलन र फेन्सिङमा गरी तीन स्वर्ण जितेको हो । याङ क्वानले रूसकी एनाथारिसा ग्लान्सियालाई पछि गर्दै १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन् । 

त्यस्तै ह्वाओ जिहुईले ओलम्पिकको २ सय १० केजी कीर्तिमानसहित भरोत्तोलनको महिला ४९ केजीमा स्वर्ण जितिन् भने फेन्सिङमा सन यविनले स्वर्ण जिते ।

यता साइक्लिङतर्फ इक्वेडरका क्रापाजले स्लोभानियाका तादेई पोगाचारलाई पछि पर्दै रोड रेसमा स्वर्ण जिते । इक्वेडरले ओलम्पिक इतिहासमा जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन् १९९६ को एट्लान्टा ओलम्पिकका ५० किमी रेस वाकमा जेफरसन पेरेजले स्वर्ण जितेका थिए ।

जापानमा कोभिड १९ संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै टोकियो ओलम्पिकका प्राय सबै खेलमैदानमा दर्शक प्रवेशमा रोक लगाइएको छ । जापानी दर्शकका लागि रोड रेस टोकियो ओलम्पिकमा प्रत्यक्ष खेल हेर्ने अनौठो अवसरसमेत बन्यो । 

‘यो मेरा लागि अविस्मरणीय क्षण हो,’ क्रापाजले भने, ‘आत्मविश्वास नै सबैभन्दा ठूलो शक्ति हो । मैले मेरो मिहिनेतको फल आज प्राप्त गरें ।’

दक्षिण कोरियाले पनि मिक्स्ड टिम आर्चरीमा स्वर्ण पदक जित्यो भने जापानका नाओहिसा तोकाताले जुडोको ६० केजी तौल समूहमा स्वर्ण जिते । त्यस्तै कोसोभोकी दिस्ट्रा क्रास्निघीले महिला ४८ केजी जुडोमा स्वर्ण जित्दा इरानका जाभेद फौरागीले पुरुष १० मिटर एयर पेस्तोलमा स्वर्ण जितेका हुन् ।

यता इटालीका भेटो डेल अक्वेलाले तेक्वान्दोतर्फ पुरुष ५८ केजीमा, हंगेरीका एरोन ज्यागीले फेन्सिङ, थाइल्यान्डकी पानपाक वोङफाटानकैटले तेक्वान्दोतर्फ महिला ४९ केजी तौल समूहमा स्वर्ण जिते ।

तर चीन र इक्वेडरले सुखद सुरुआत गर्दा जापानका लागि भने सुखद रहेन । जिम्न्यास्टिक स्टार कोहे उचिमारु होराइजेन्टर बारमा अयोग्य घोषित भएसँगै बाहिरिएका थिए । सन् २०१२ को लन्डन र सन् २०१६ को रियो ओलम्पिकका स्वर्ण विजेता उचिमारुले घरेलु मैदानमा हुने यस संस्करणको ओलम्पिकपछि संन्यास लिने घोषणा गरिसकेका छन्  ।