ओलम्पिकको म्याराथन रुटमा सर्वसाधारणलाई रोक

टोकियो, (खेलाडी)- कोभिड १९ संक्रमण फैलिने डरले टोकियो ओलम्पिक २०२० को आयोजकले मंगलबार म्याराथन रुटमा सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । 

विश्‍व खेलकुदको सबभन्दा ठूलो महाकुम्भ ओलम्पिकमा महामारीको रूप लिएको कोभिड १९ को विषयमा निकै संवेदनशील हुँदै आयोजकले यस्तो निर्णय सार्वजनिक गरेको हो । कोभिड १९ महामारीकै कारण गन वर्षलाई हुने तय भएको ओलम्पिक एक वर्ष पछि धकेलिएको थियो । टोकियोमा ओलम्पिक २०२० सुरु हुन अब तीन साता मात्र बाँकी छ । जुलाई २३ बाट हुने ओलम्पिकलाई लिएर आयोजक निकै कठोर हुँदै आएको छ । 

‘अहिले कोभिड १९ को संक्रमण रोक्नका लागि आयोजक कठोर हुनुपर्ने अवस्था छ । यही कारण सर्वसाधारण हिँडडुल गर्ने समयलाई लिएर केही निर्णय गर्नुपरेको हो,’ आयोजकले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘सम्भावित भयावह अवस्थालाई रोक्न यस्तो निर्णय गरेका हौं ।’

कोभिड १९ कै कारण म्याराथन आयोजनास्थललाई लिएर केही विवाद भएको थियो । टोकियोबाट म्याराथनको आयोजनास्थल उत्तर सापोरोमा सर्ने तय भएपछि केही विवाद आएको थियो । उक्त स्थानमा गर्मी भएकाले विवाद देखिएको हो । महिला र पुरुषतर्फको म्याराथन ओलम्पिकको अन्तिम इभेन्ट हुनेछ । जुन इभेन्ट अगस्ट ७ र ८ मा हुने तालिका छ । 

यसअघि सापोरोमा भएको रिहल्सलमा सुरक्षार्थ खटिएका अधिकारीले सर्वसाधारणलाई हेर्नसमेत अनुमति दिएका थिएनन् । संक्रमण हुने आशंकामा उनीहरू सर्वसाधारणप्रति कठोर देखिएका थिए । 

ओलम्पिकका लागि विश्‍वभरका धेरै खेलाडी उपस्थित हुने अनुमान गरिएको छ । आयोजकले १० हजार घरेलु समर्थकले मात्र खेल हेर्न पाउन प्रावधान तोकेको छ । तर अनुमति पाउनेमा अन्योल पनि उत्तिकै छ । यस्तै खेलस्थलमा आधा दर्शकलाई अनुमति दिने प्रवन्ध मिलाउँदा विदेशी समर्थकलाई भने पूर्ण रूपमा रोक लगाइसकेको छ । 

संक्रमण दर फैलिने विषयलाई लिएर जापान ओलम्पिककी पूर्वअध्यक्ष सिको हासिमोतोले खेल बन्द रंगशालामा हुन सक्ने चेतावनी दिएकी छिन् । ओलम्पिकमा सहभागी हुने खेलाडी र पदाधिकारी जापान पुग्‍ने क्रम जारी छ । ११ हजार खेलाडी सहभागि हुने अनुमान गरिएको मेलामा २ सयभन्दा बढी देशबाट खेलाडी र पदाधिकारी सहभागी हुनेछन् । 

सोमबार जापानका सञ्‍चार माध्यमले कोभिड संक्रमण फैलिने डरले उद्घाटन सत्रमा रंगशालामा दर्शकलाई अनुमति दिने सम्भावना न्यून भएको बताएका छन् । साथै आयोजकले भिआइपी र अन्य ओलम्पिक पदाधिकारीको हकमा पनि कमभन्दा कम उपस्थिति गराउने रणनीति अपनाइरहेको छ ।