विष्ट अध्यक्ष, पूर्वमन्त्री पौडेललाई कारबाही !

काठमाडौं, (खेलाडी)- माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन नेपाल खेलकुद महासंघ (नेकोस)ले अध्यक्ष पुरुषोत्तम पौडेल र महासचिव धर्मकुमार श्रेष्ठलगायतलाई निश्कासन गरी केशवकुमार विष्टलाई अध्यक्षमा चयन गरेको जनाएको छ ।

माउ पार्टी नेकपा एमाले विभाजन भएसँगै खेलकुदमा पनि त्यसको प्रभाव परेको छ । नेकपा एमालेको भ्रातृ संगठनका रुपमा पौडेलको अध्यक्षतामा २०६६ सालमा नेकोस स्थापना भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको कट्टर विरोधीका रुपमा रहँदै आएका पौडेल पार्टी विभाजनसँगै एकीकृत समाजवादीमा लागेका थिए । 

तर एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल निकट मानिने पौडेल र महासचिव श्रेष्ठले शनिबार अचानक आफूहरु मुल पार्टीमै रहेको भन्दै विज्ञप्ति निकालेका कारण उनीहरुलाई नेकोसबाट निश्कासन गरिएको विष्टद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पुरुषोत्तम पौडेल युवा तथा खेलकुद मन्त्री हुँदा उनले राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा विष्टलाई नियुक्त गरेका थिए । सदस्यसचिव नियुक्ति प्रक्रिया नमिलेको भन्दै अख्तियारमा उजुरी पर्नुका साथै पार्टीभित्र गुटगत विवाद हुँदा पौडेलले आफू मन्त्री पदबाट राजीनामा गरेर विष्टको सदस्यसचिव पद जोगाएका थिए । 

माउ पार्टीको विभाजनसँगै खेलकुदको भ्रातृ संगठनमा पनि नेता तथा कार्यकर्ताहरुले कित्ता परिवर्तन गर्ने क्रम अझैसम्म निरन्तर छ ।

अध्यक्ष र महासचिवलगायतका पदाधिकारीलाई कार्वाही गरिएको भन्दै प्रथम उपाध्यक्ष केशवकुमार विष्टलाई अध्यक्षमा चयन गरिएको विष्टद्धारा आइतबार राति जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा जनाइएअनुसार आइतबारै बसेको एकीकृत समाजवादी पार्टीअन्तर्गतको नेकोसको केन्द्रिय कमिटी बैठकले पौडेल र श्रेष्ठलाई कार्वाही गर्दै उनलाई अध्यक्ष चयन गरेको हो । 

‘गत राष्ट्रिय कार्यकर्ता भेलाबाट गरिएको केन्द्रिय कमिटीको दुई तिहाईभन्दा अधिक सदस्यहरु महासंघको मुलप्रवाहमै संगठित छौं र आगामी दिनहरुमा सँगै अघि बढ्न प्रतिबद्ध छौं,’ आफू नेतृत्वको नेकोसलाई मुल संगठन दावी गर्दै विष्टद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संगठनलाई नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध भई खेलकुदको मुल प्रवाहका रुपमा निरन्तर अगाडि बढाउने निर्णय गरी आगामी कात्तिक १२ र १३ गतेका दिन राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरिएको छ ।’