निसिम थापा

फर्कंदैन अब निसिमको उडान

  • सुरेन गुरुङ

नवौं बृहत राष्ट्रिय खेलकुदलाई हामीले अत्यन्तै उत्साह र व्यग्रताका साथ प्रतीक्षा गरेका थियौं । पोखरामा हुने राष्ट्रिय खेलकुदमा यसपालि पनि प्याराग्लाइडिङ खेल समावेश गरिएको थियो । यसलाई हामीले आफ्नो खेललाई राज्यले दिएको प्राथमिकताका रूपमा लिएका थियौं । त्यसैले भव्य र रोमाञ्चक रूपमा यो खेल सम्पन्न गर्ने हाम्रो योजना थियो ।

तर, दुर्भाग्य । मानिसले सोचे जस्तो सबथोक हुँदो रहेनछ । राष्ट्रिय खेलकुदको इतिहासमै स्मरणीय बनाउने उत्साहका साथ लागेका हाम्रा लागि यो राष्ट्रिय खेलकुद बिर्सनलायक भएर बिदा भयो । नवौं राष्ट्रिय खेलकुद र २०७९ साल असोज ३० गतेका दिन हाम्रा लागि सुखद रहेन । त्यो दिन त नेपाली खेलकुद र नेपाली प्याराग्लाइडिङका लागि कालो दिनमा अंकित भएर बिदा भयो ।

निसिम भाइ एकदमै मिहिनेती खेलाडी थियो । नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङमा क्रसकन्ट्रीतर्फ सबैभन्दा मिहिनेत निसिमले नै गरेका थिए । ऊ नियमित अभ्यास गर्थ्यो । उड्न मात्र नभई पढाइमा पनि गम्भीर थियो । मास्टर्स पढिरहेको थियो । कम बोल्ने स्वभाव भए पनि ऊ सबैसँग मिल्ने मिजासिलो मान्छे थियो ।

करिब एक दशकअघि प्याराग्लाडिङ क्षेत्रमा आएपछि नै मैले उसलाई चिनेको हुँ । प्याराग्लाइडिङ कम्युनिटीमा सबैसँग मिल्ने र कडा मिहिनेत गर्ने खेलाडीका रूपमा उसले पहिचान स्थापित गरेको थियो । वास्तवमा हामी सबै व्यावसायिक खेलाडी नै हौं । तर, फुर्सद मिल्ने बित्तिकै निसिमचाहिँ अभ्यास गर्न थालिहाल्थ्यो ।

त्यो तेस्रो दिन थियो । पहिलो दिन अभ्यास भयो । दोस्रो दिनको टास्क पनि भइसकेको थियो । तेस्रो दिन... हामी सबै टिम माथि गयौं । माथि गएर वेब प्वाइन्ट सबै हाल्यौं र टास्क बनायौं ।

प्याराग्लाइडिङमा जिपिएस सिस्टम हुन्छ, रेफ्री चाहिँदैन । सबै खेलाडीले त्यो दिनको टास्क भ्याइसकेपछि सिस्टमले नै रिजल्ट दिन्छ ।

सबै गरिसकेर उड्न तयार थियौं । म पनि ग्लाइडर लिएर गएको थिएँ । मैले मेरो टिम (एपिएफ)लाई ब्रिफिङ गरेँ ।

प्याराग्लाइडिङमा खेल सुरु हुनुभन्दा अगाडिको अवस्था परीक्षण गर्ने विङ्ग डोमी गरिन्छ । त्यसका लागि मान्छे चाहियो । अरू कोही उपलब्ध भएनन् । म ग्लाइडरसहित त्यहाँ पुगेको थिएँ । ‘ठिकै छ, म जान्छु’ भनेर गएँ ।

सुरुमा म टेकअफ गरेर गएँ । कन्डिसन स्ट्रङ बनिसकेको थिएन, बिस्तारै बन्दै थियो । म विस्तारै तलबाट उचाइ लिँदै माथि आइरहेको थिएँ । म जानेबित्तिकै निसिमले पनि टेकअफ गरेको रहेछ । त्यसपछि अरू दुई जनाले । त्यो बेला हामी चार जना माथि आकाशमा थियौं ।

दुई भाइलाई मैले माथि नै भेटें । त्यति बेला ठ्याक्कै टेकअफ प्वाइन्ट अगाडि निसिम भाइ उचाइ लिनका लागि घुमिरहेको देखेको थिएँ ।

हामी एउटै सर्कलमा राइट टर्न गरिरहेका थियौं । म फर्केर हेर्नेबित्तिकै उसको ग्लाइडर कोल्याप्स भइसकेको रहेछ ।

उसको ग्लाइडर फनफनी घुमिरहेको थियो । ऊ धेरै उचाइमा थिएन । करिब २० प्रतिशत ग्लाइडर कोल्याप्स भएको थियो । मैले ए... भनेर कराउँदा कराउँदै भुईंमा ड्याम्मै ठोक्किइहाल्यो भाइ त... ।

निसिमको काकालाई ल्यान्ड गर्नेबित्तिकै भेटेको थिएँ । नराम्रोसँग लागेको छ, तुरुन्त हेलिकोप्टर बोलाउनु भनें । त्यति हुँदा भाइलाई रेक्स्यु गरेर अस्पतालका लागि ल्याइँदै थियो ।

घटना देख्नेबित्तिकै नराम्रो लाग्यो । सुरुमा  त्यहाँ ठूला ठूला घरहरू बनिरहेको छ । रड बुनेर राखेको थियो । देख्ने बित्तिकै रडतिर पर्छ कि भन्ने लागेर कराएँ । तर, भाइ गएर जस्ताको घरको छेउमा गएर ठोक्कियो । १० मिटर मात्रै उता पर्दा भाइ अनलक्की भयो ।

टिनको छानोमा परेको भए ज्यानै गुमाउनुपर्दैन थियो होला ।

त्यसपछि मैले त्यहीं ल्यान्ड गर्ने कोसिस गरें । त्यस्तो भएको देखिसकेपछि मलाई हतार भयो ल्यान्ड गर्न । करिब ४–५ मिनेटमा ल्यान्ड गरें ।

त्यहाँ रेस्क्यु टिम पुगिसकेको थियो । उद्दार टिम र मेडिकल टिम तयार थियो । खसेको करिब २ मिनेटमै उनीहरू त्यहाँ पुगिसकेका थिए ।

निसिमको काकालाई ल्यान्ड गर्नेबित्तिकै भेटेको थिएँ । नराम्रोसँग लागेको छ, तुरुन्त हेलिकोप्टर बोलाउनु भनें । त्यति हुँदा भाइलाई रेक्स्यु गरेर अस्पतालका लागि ल्याइँदै थियो ।

तर बाटैमा मृत्यु भइसकेको रहेछ । केही पनि गर्नै सकिएन ।

धेरै वर्ष सँगै उड्यौं, उडायौं । अन्तिम पटक पनि म सँगै उडेको थियो । म पनि एक्लै उडाइरहेको हुन्छु, त्यस्तो बेला निसिमले म पनि जान्छु भनेर जान्थ्यो ।

सँगै कत्ति उडियो, तर त्यो दिन त्यस्तो भएन ।

भाइहरूसँग पूर्व धरानतिर कता कता पुगेर सँगै उडेका थियौं । कति पटक मेरो फार्ममा सँगै गयौं, बस्यौं । भाइ कोहीसँगपनि नराम्रो नबोल्ने खालको थियो । साह्रै मिलनसार थियो । निसिमभाई जीवनभर मिस हुन्छ ।

भाइले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिसकेको छ । इन्डोनेसिया, कोरिया, भारतमा खेलिसकेको थियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा क्रसकन्ट्री धेरै खेलिसकेको थियो ।

भाइले गितार राम्रो बजाउँथ्यो । एकचोटि स्याङ्जामा एउटा प्रतियोगिता हुँदा पनि भाइले रातभर गितार बजाएर गीत गाएर सुनाएको थियो । ऊ टिममा हुँदा बोर हुनुपर्दैन थियो । धेरै स्मरणीय क्षणहरू थिए । तर ती सब अब स्मरणमै मात्र सीमित रहे ।

अहिले पनि मलाई निसिम भाइ सम्झिँदा धरान पुगेको याद आउँछ । उदयपुर र सुनसरीमा उडाएर हामी धरान फर्केका थियौं ।

भाइहरूले झुक्किएर होटलमा आगो निभाउन राखिएको फायर एक्स्टिन्जर दबाइदिँदा सबै ग्यास बाहिर निस्किएको थियो । पछि हामी पोखरा आएर पनि त्यसमा धेरै कुरा गरिरहन्थ्यौं ।

भाइ त्यो दिन पनि खेलका लागि, उडानका लागि एकदमै उत्साहित थियो । उड्यो पनि तर...

(लेखक नवौं राष्ट्रिय खेलकुदअन्तर्गत असोज ३० गते प्याराग्लाइडिङ खेलमा निसिम थापाको मृत्यु नै हुनेगरी भएको दुर्घटनाका प्रत्यक्षदर्शी गुरुङ प्रशिक्षक पनि हुन् ।)