कुङ्फु

सन्जिव र सन्जित सम्मानित

काठमाडौं । मनमैजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वर्ल्ड मार्सल आर्ट्स गेम्सका दोहोरो पदक विजेता सन्जिव तामाङ र सन्जितकुमार राईलाई शनिबार सम्मान गरेको छ । मनमैजुस्थित मनमैजु उमा कुङफु स्कुलले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदन–प्रदान गर्न आयोजित कार्यक्रममा दुवैलाई सम्मान गरिएको हो ।

तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङफु स्कुलका संस्थापक एवं प्रमुख प्रशिक्षक रमेश महर्जनलगायतले उनीहरुलाई प्रशंसा पत्र र खादा प्रदान गरी सम्मान गरे । सो अवसरमा मेयर महर्जनले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिता दिएर योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा सन्जिवले स्वर्ण जितेका थिए । उनले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनि कांस्य हात परेका थिए ।
त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सन्जितले चाइनिज क्रिएटिभमा स्वर्ण तथा ट्रेडिसनल फम्समा कांस्य जितेका थिए ।

सोही अवसरमा पहिलो डान प्राप्त गर्न सफल मनीष पुटुवार, सिओन सुनुवार र निराजन मोक्तानलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो । उनीहरुको ग्रेडिङ नेपाल उमा कुङफु संघका सहायक प्रमुख प्रशिक्षक उद्धव थापा मगरले सञ्चालन गरेका थिए ।