नवौं राष्ट्रिय खेलकुद

राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा

काठमाडौं । राष्ट्रिय खेलकुदको ट्रफी टूर प्रदेश १ को विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित शहिद रंगशालामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरे ।

राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा असोज २८ गते देखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी टूर पहिलो पटक गरिएको हो ।

ट्रफी प्रदर्शनी गर्दा ट्रफी टूर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्य नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र अल्ट्रा धाविका मिराको पनि उपस्थिति थियो ।

ट्रफी प्रदर्शनीका क्रममा खेलाडीका लागि प्रदेश सरकारले कन्जुस्याइ नगर्ने उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुद सफलताका लागि प्रदेश टोलीलाई शुभकामना दिए । प्रदेश १ का सामाजिक तथा खेलकुद मन्त्री राजन राईले नवौ राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई विगतमा भन्दा पुरस्कार रकम बढ्ने जानकारी दिए ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले ३५ खेलमा ७ सय ६ खेलाडी तथा प्रशिक्षक र व्यवस्थापक गरि ८ सय २० जनाको सहभागिता रहने जानकारी दिए । भदौ २८ गतेदेखि असोज ८ गते सम्म भएको प्रदेश छनोटमा ४ हजार १ सय ५२ खेलाडीको सहभागिता रहेको वाग्लेले बताए ।

ट्रफीलाई असोज ९ गते सशस्त्र प्रहरी बल (एपीएफ) को हल्चोकस्थित मुख्यालय, असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिर पूर्याइनेछ । अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा पूर्याइनेछ ।

यसअघि ट्रफीलाई सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको हेटौंडा, नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र एनआरएनए गरी ११ टोलीका खेलाडीको सहभागिता रहनेछ ।