चेस

चेस आइएमको लक्ष्यमा विवेक

विवेक थिङ सानैदेखि खेलकुदमा रूचि राख्दथे । साथीहरूसँग फुटबल खेल्न जानु उनको दैनिकी थियो । घरमा आमाबुबासँग अनेक बहाना बनाएरै भए पनि उनी फुटबल खेल्न जान्थे । त्यतिबेला विकेकले सायदै कुनै दिन चेसमा लाग्छु भन्ने सोचेका थिए होलान् ।

कर्फ्युको समयमा दाइ (सञ्जय लामा )ले दिन कटाउनकै लागि उनलाई चेस खेल्न प्रस्ताव गरेका थिए । पहिलो खेलमै उनले सञ्जयलाई हराएदिए । त्यसपछि भित्री मनमा उनलाई जितको स्वाद बस्यो । उनमा यो खेलप्रति लगाव बढिरहेको थियो ।

दाइसँगको त्यही खेलबाट हौसिएका विकेकले नेपाल बुद्धिचाल संघले आयोजना गर्ने विद्यालयस्तरीय प्रतियोगितामा निरन्तर सहभागिता जनाए । सबै प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै सफलताको सिँढी चढिरहे । 

उनी कक्षा छोडेरै फुटबलसमेत खेल्न जान्थे । साथीहरूले भने फुटबलमै लाग्नुपर्छ भनिरहन्थे । तर एकजना सर (हरिकृष्ण)ले ‘चेस खेलमा तिम्रो भविष्य छ, त्यही खेलमा लाग्नुपर्छ’ भनेर सुझाउनु भएको रहेछ । आफूलाई पनि त्यस्तै महसुस भएर चेसमा लागेको उनले सुनाए ।

कक्षा ७ मा पढ्दा उनले स्कुलस्तरीय अन्नपूर्ण चेस प्रतियोगितामा तेस्रो स्थान हासिल गरे । ‘मैले तेस्रो स्थान हासिल गरेर ५ सय रुपैयाँ जितेको थिएँ,’ विवेक सम्झन्छन्, ‘त्यो मेरा लागि विशेष क्षण थियो ।’

उनी कक्षा छोडेरै फुटबलसमेत खेल्न जान्थे । साथीहरूले भने फुटबलमै लाग्नुपर्छ भनिरहन्थे । तर एकजना सर (हरिकृष्ण)ले ‘चेस खेलमा तिम्रो भविष्य छ, त्यही खेलमा लाग्नुपर्छ’ भनेर सुझाउनु भएको रहेछ । आफूलाई पनि त्यस्तै महसुस भएर चेसमा लागेको उनले सुनाए ।

उनले सुनाए, ‘१३-१४ वर्षको उमेरबाटै रेटिङ गेम खेल्न थालिसकेको थिएँ । मेरो पहिलो रेटिङ १ हजार ८ सय २० थियो । जुन जुनियर प्रतियोगिताका लागि निकै राम्रो रेटिङ हुन्थ्यो भने सिनियर प्रतियोगितामा प्रवेश गर्न यो चुनौतीपूर्ण रेटिङ थियो । त्यसपछि म विभिन्न प्रतियोगिताहरूमा सहभागी भएँ ।’

विवेक सन् २०१३ मा यु-१९ राष्ट्रिय च्याम्पियनसमेत भए । निरन्तर प्रतियोगिता नहुँदा र स्तरीय प्रतिद्वन्द्वीविरुद्ध खेल्न नपाउँदा आफ्नो रेटिङ जोगाउन कठिन हुने विवेकको बुझाइ छ ।

नेपालले फिडे मास्टर पाएको १२ वर्ष भइसकेको छ । तर त्योभन्दा माथि जान नसक्नुलाई दुर्भाग्य ठान्छन् उनी । उनले भने, ‘इन्टरनेसनल मास्टर (आइएम) र ग्रान्ड मास्टर (एफएम) नेपालमा छैनन् । जसले गर्दा हामीले अन्तर्राष्ट्रियस्तरमा आशातीत सफलता पाउन सकिराखेका छैनौं ।’

२३ सयसम्म रेटिङ पाउनेले फिडे मास्टर हुन पाउँछ । हाल नेपालका कुनै पनि खेलाडीको रेटिङ २३ सयभन्दा माथिका छैनन् । २४ सयभन्दा माथिको रेटिङ भएपछि मात्र इन्टरनेसनल मास्टर प्राप्त गर्छन् । विवेक भन्छन्, ‘हामीले २३ सय रेटिङ नै बनाउन सकेका छैनौं । त्यसैले हाम्रा लागि पहिलो लक्ष्य भनेको आफ्नो रेटिङ २३ सय कटाउने छ । त्यसपछि मात्र हामीले इन्टरनेसनल मास्टरका लागि प्रयास गर्न सक्छौं ।’

फिडे मास्टर बन्न पनि इन्टरनेसनल मास्टर र ग्रान्ड मास्टरसँग करिब एक वर्षको प्रशिक्षण लिनुपर्छ । खेलाडीहरूले पनि स्तरीय प्रतियोगिता छनोट गरेर खेल्नुपर्ने विवेकको भनाइ छ ।

अहिले चेसका लागि धेरै प्रतियोगिता आयोजना नभइरहेको र प्रायोजकसमेत नभएकाले खेलाडीहरूले फिडे मास्टरका लागि आवश्यक रेटिङ ल्याउन कठिन भइरहेको विवेक सुनाउँछन् ।

बुद्धिचाल संघले पनि निरन्तर प्रतियोगिता आयोजना गर्न सकिरहेको छैन । उनले भने, ‘सम्भवतः प्रायोजकको अभावका कारण निरन्तर प्रतियोगिताहरू नभएका होलान् । संघ जिम्मेवार नबन्दा कुनै समय निकै उचाइ लिइसकेको चेसको गति सुस्त भएको छ । नयाँ खेलाडीहरूले यसमा भविष्य नै छैन भन्ने ठानिसके जस्तो लाग्छ ।’

रेटिङ बढाउन खेलाडीले अन्य राष्ट्रमा हुने प्रतियोगिताहरू खेल्न निकै कठिन छ ।   नेपाली खेलाडीहरूले भारतमा गएर विभिन्न प्रतियोगिता खेल्छन् । तर त्यहाँ नेपाली खेलाडीलाई रेटिङ बढाउन कठिन हुने विवेकको बुझाइ छ ।

सन् २०१४ मा रसियन सोसियल स्टेट विश्वविद्यालयबाट उनले रुसमा चेसको छात्रवृत्ति पाएका थिए । त्यहाँ उनले ग्रान्ड मास्टरहरूसँग एक वर्षको प्रशिक्षण लिने मौका पाएका थिए ।

‘म मस्कोमा भएको भएर यहाँ राष्ट्रिय च्याम्पियनसिप भने खेल्न पाइनँ । तर चेस ओलम्पियाडकै लागि मैले छनोट प्रतियोगिताहरू खेल्न आवश्यक थिएन,’ विवेकले भने, ‘मेरो रेटिङ अहिले २२ सय ६० छ । मेरो लक्ष्य इन्टरनेसनल मास्टरसम्म पुग्ने हो ।’