नवौं राष्ट्रिय खेलकुद

विष्टको संयोजकत्वमा मस्यौदा समिति

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा ३ सदस्यीय आर्थिक विनियम मस्यौदा समिति गठन गरिएको छ ।

समितिका सदस्यमा आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा र खेलकुद विकास विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् । विष्ट नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका छन् ।

नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले यसअघि नै पूर्णता पाइसकेको छ ।

कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले समितिमा मनोनित पदाधिकारीहरुलाई असार अन्तिम साता मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।

मनोनित हुनेमा सदस्यहरुमा राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख लक्ष्मीप्रसाद भट्टराई, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङ, प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद विकास विभागका प्रमुख वज्रबहादुर केसी, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक संगमसिंह थापा, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा छन् ।