जुडाे

जुडो टोली फर्कियो

काठमाडौं । थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भएको नेपाली जुडो टोली स्वदेश फर्किएको छ ।

साउन १ गतेदेखि सुरु प्रतियोगिताको क्याडेटमा २ तथा जुनियरमा २ गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाए । त्यसपछि उनी काजाकिस्तान र ताइपेईंका खेलाडीसँग पराजित भए । महिला ४८ केजीमुनि निशा श्रेष्ठ पदकनजिक पुगेकी थिइन् । रिपाचेजमा निशा काजाकिस्तानकी खेलाडीसँग चुकिन् । उक्त भिडन्त जितेको भए निशाको कांस्य पदक पक्का हुने नेपाल जुडो संघका उपाध्यक्ष सूर्यनारायाण श्रेष्ठले जनाएका छन् । रिपाचेजअघि निशा उज्वेकिस्तानकी खेलाडीसँग पछि परेकी थिइन् ।

जुनियरको पुरुष ६० केजीमुनि मंगोलियाका खेलाडीले उत्तम प्रधान श्रेष्ठलाई हराए । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले पहिलो खेलमा भारतकी खेलाडीलाई पराजित गरिन् । सेमिफाइनलमा देवकीले काजाकिस्तानकी खेलाडीसँग पराजय व्यहोरे पनि रिपाचेजमा पुनः अवसर पाइन् । कांस्य पदकका लागि भएको रिपाचेजमा देवकी उज्वेकिस्तानकी खेलाडीसँग चुकिन् । देवकी र निशा दिदीबहिनी हुन् । नेपालबाट सहभागी चारै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।