जुडो

१९औं एसियाली प्रतियोगिताको लागि जुडोबाट २१ खेलाडी छनोट

काठमाडौं । १९औं एसियाली प्रतियोगिताको लागि आइतबार जुडोको दोस्रो चरणको छनोट सकिएको छ ।

नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा सम्पन्न दोस्रो चरणको छनोटबाट पुरुषतर्फ ११ जना र महिलातर्फ १० जना खेलाडी गरी २१ जना खेलाडी छनोट भए ।

छनोट प्रतिायोगितामा पुरुष ६० केजी तौल समूहमा नेपाल पुलिस क्लबका उमेश मगर, सुबोध मन्डल र प्रवीनकुमार दियाली छनोट भए । पुरुष ७३ केजी तौल समूहमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबका प्रमोद मन्डल, सन्जित डंगोल र सुदेश डोङ तथा पुरुष ८१ केजी तौलमुनि समूहबाट मधु रोकामगर, जंगबहादुर सारु र योगेन्द्र बिष्ट चुनिए ।

एक सय केजीभन्दा माथिको तौल समूहबाट राजन जोशी र प्रनीतजंग सिंह ठकुरी छनोट भए ।

यसैगरी महिलातर्फ ४८ केजी तौलमुनि विधामा पुलिसकी सोनिया भट्ट, निशा श्रेष्ठ र सुनिता मगर तथा ५७ केजी तौलमुनि विधाबाट पुलिसकी मनिता श्रेष्ठ प्रधान, आर्मीकी सीमाकुमारी चिडी र एपिएफबाट सुनिता थिङ चुनिए ।

महिला ७० केजी तौलमुनि बाट आर्मीकी पुनम श्रेष्ठ र पुलिसकी निशा चौधरी तथा ७८ केजी तौलभन्दा कममा आर्मीकी आकृति जोशी र अस्मिता गोले छनोट भए ।