एनओसी अवार्ड

प्रिन्स र गौरिका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । ब्याड्मिन्टनका प्रिन्स दाहाल र पौडीकी गौरिका सिंह एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीबार आयोजना गरेको एनओसी अवार्डमा प्रिन्सलाई उत्कृष्ट पुरुष तथा गौरिकालाई उत्कृष्ट महिला खेलाडीको सम्मान प्रदान गरिएको हो ।

यसैगरी तेक्वान्दोकी संगीना वैद्यले उत्कृष्ट महिला प्रशिक्षकको सम्मान पाउँदा नेपाल तेक्वान्दो संघ उत्कृष्ट संघ घोषित भयो ।

बिबिसीका वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले एनओसी अवार्डअन्तर्गत सर्वोत्कृष्ट मल्टिमिडिया पत्रकारको पुरस्कार पाउँदा कान्तिपुरका राजु घिसिङ छापा माध्यमतर्फ सर्वोत्कृष्ट पत्रकार घोषित भए ।

त्यस्तै फोटो पत्रकारको विधामा गोरखापत्रका राजेन्द्र चित्रकार पुरस्कृत हुँदा श्रव्य दृष्यतर्फ कान्तिपुर टेलिभिजनकी सविना कार्कीले सर्वोत्कृष्ट पत्रकारको पुरस्कार पाइन् ।