सुटिङ

सुटिङ प्रतियोगिता सुरु

काठमाडौं । ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा शनिबारदेखि सुटिङ प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । २६ पुरुष र २४ महिला गरी ५० खेलाडी सहभागी छन् । पुरुष/महिला १० मिटर एयर राइफल र पेस्तोलतर्फ व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् ।

पहिलो दिनको खेल टुङ्गिदा पुरुष राइफलतर्फ नेपाल आर्मी क्लबका कुमार कार्की ३९३.८, आर्मीकै नारायणसिंह दोङ ३९३.४ र नेपाल प्रहरी क्लबका धनबहादुर विक ३८५.५ अंकसाथ क्रमशः शीर्ष तीन स्थानमा छन् । सो स्पर्धाको महिलामा आर्मीकी सुविना तामाङ ३ सय ९२ अंकमा पहिलो तथा प्रहरीकी रत्ना चौधरी ३५६.३ अंकमा दोश्रो स्थानमा छन् ।

पुरुष पेस्तोलमा प्रहरीका मानबहादुर घले ३ सय ६४ अंकसाथ पहिलो, आर्मीका खेमराज ओली ३ सय ५९ अंकसाथ दोश्रो तथा आर्मीकै आदित्य खड्का ३ सय ५७ अंकसाथ तेश्रोमा छन् । उक्त स्पर्धाको महिलामा आर्मीकी हेमा चौधरी ३ सय ४५ अंकसहित प्रथम, आर्मीकै राधिका घर्ती ३ सय ३६ अंकसहित द्वितीय र ललितपुरकी ज्योति थापा २ सय ६७ अंकसहित तृतीय स्थानमा छन् । 

चारै स्पर्धामा ४ सय पूर्णाङकमा प्रतिस्पर्धा भइरहेको छ । ४ सय पूर्णाङकमा गरेको प्रदर्शनकै आधारमा प्रतियोगिताको अन्तिम दिन मंगलबार स्वर्ण, रजत र कांस्य जित्ने खेलाडीको टुंगो लाग्ने छ ।