ओलम्पिक डे

ओलम्पियनहरुको पुनर्मिलन हुने

काठमाडौं । नेपाल ओलम्पियन संघले ओलम्पिक डेका अवसरमा ओलम्पियनहरुको पुनर्मिलन गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले आसार ७ गते  ओलम्पियनहरुको पुनर्मिलन गर्ने जनाएको हो ।

नेपालले १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट ओलम्पिकमा उपस्थिती जनाएको थियो । संघले सो बेला देखि २०२० मा टोकियोमा आयोजना भएको ओलम्पिक सम्मका ओलम्पियनहरुको पुनर्मिलन गर्न लागेको हो । ओलम्पियनहरु आआफ्नो कार्य व्यस्तताका कारण सबै सँधै एकै ठाउँमा भेला हुन नसक्ने अवस्था रहेकोले भातृत्व र आत्मीयता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न लागिएको संघका अध्यक्ष दीपक बिष्टले जानकारी गराए । 

बिष्टले विदेशमा रहेका ओलम्पियनहरुलाई पनि उक्त कार्यक्रममा सहभागी गराउन प्रत्यक्ष प्रशारणमार्फत समेट्ने प्रयास रहेको बताए । सो अवसरमा अग्रजलाई सम्मान गर्ने र दिगंवत ओलम्पियनहरुलाई पनि उक्त दिन विशेष सम्झना गर्ने अध्यक्ष बिष्टले बताए ।

संघले ओलम्पिक डे का अवसरमा अन्य कार्यक्रमलाई पनि अगाडी सारेको छ । जसमा २०७९ आषाढ ५ गते ओलम्पियन संघ र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघविच टेबल टेनिस, ६ गते ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटबल, ८ गते स्कुल टु ओलम्पिक कार्यक्रमअन्तर्गत विभिन्न स्कुलका बिद्यार्थी र ओलम्पियनबीच अन्तरकृया कार्यक्रम र ९ गते ओलम्पिक डे मनाउन कार्यक्रम रहेको छ ।